१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024


पुष्पकमल दाहाल पहिलोपटक सार्वजनिक भएको स्थलमा शान्ति स्तम्भ बन्ने


0
Shares

                                  तस्वीर : हरिहरसिंह राठौरको फेसबुकबाट

वासुदेव पौडेल 

पोखरा, भदौ १६ । विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्तामध्येका पुष्पकमल दहाल पहिलोपटक सार्वजनिक भएको स्थल कास्कीको सिक्लेसमा शान्ति स्तम्भलगायतका पूर्वाधार बन्ने भएका छन् । 

तत्कालीन सशस्त्र आन्दोलनरत माओवादी पार्टीका अध्यक्ष दाहाललाई तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले २०६२ जेठमा यही मादी गाउँपालिका–१ सिक्लेसबाट हेलिकप्टरमा राखेर काठमाडौँ ल्याएका थिए । त्यसयता विकसित शान्ति प्रक्रियाले गति लिँदै देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ । 

दाहाल पहिलोपटक सार्वजनिक भएको स्थल सिक्लेसको ऐतहासिक एवं राजनीतिक महत्वलाई दृष्टिगत गरी शान्ति स्तम्भसहितका पूर्वाधार निर्माण गर्न लागिएको मादी गाउँपालिका प्रमुख बेदबहादुर गुरुङले जानकारी दिए ।

‘सिक्लेस नेपालको शान्ति प्रक्रियाको प्रारम्भ बिन्दु हो,’ उनले भने, ‘नेपालको अक्षांश देशान्तरअनुसार देशकै मध्यविन्दु पनि यहीँ ठाउँ पर्ने भएकाले शान्ति स्तम्भसहित हामीले यहाँ मध्यविन्दु स्तम्भ पनि निर्माण गर्ने तयारी गरेका छौँ ।’ 

गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ को बजेटमा शान्ति स्तम्भ निर्माणका लागि रु १० लाख छुट्याइसकेको छ । अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाले सिक्लेसको भुलुचुदेखि हिमालफेदीको कोरी भन्ने ठाउँसम्म केवलकार सञ्चालन गर्ने योजना अघि सारेको छ । हालै गरिएको अध्ययनको प्रतिवेदनअनुसार लगभग रु दुई अर्ब ५० करोडको लागतमा उक्त स्थलमा केबुलकार सञ्चालन गर्न सकिने देखिएको छ । 

कला, संस्कृति र प्रकृतिको बरदान जस्तै देखिने सिम्क्लेस स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको सिक्लेस युवा क्लबका पूर्व सचिव देवीजङ्ग गुरुङ बताउँछन् । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने यो गाउँ समुद्री सतहबाट दुई हजार मिटर उचाइमा छ । 

लमजुङ हिमालको काखस्थित यो गाउँ आसपास हरियो वन जङ्गलका कारण वन्यजन्तु एवं चराचरका कारण प्रकृतिप्रेमीहरु लोभिने गर्दछन् । स्थानीय समाजसेवी एवं मादी गाउँपालिका–१ का अध्यक्ष सुरजकुमार गुरुङका अनुसार यो गाउँमा हाल लगभग ४०० घरधुरी रहेका छन् । 

गाडीमा पोखराबाट लगभग चार घण्टाको यात्रामा पुग्न सकिने यो गाउँमा पुग्नासाथ ढुङ्गाले छाएको एवं छापिएको गुजुमुच्च वस्ती रहेको छ । अत्यन्त सफा र सुन्दर नमूना बस्तीले पर्यटकको मन प्रफूल्ल हुने गर्दछ । गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यो गाउँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने भएका कारण पछिल्लो समयमा गुरुङ जातिको अध्ययन तथा अनुसन्धानका लागि समेत स्वदेशी एवं विदेशी अनुसन्धान सिक्लेस पुग्ने गरेका छन् । 

गुरुङ संस्कृतिको अध्ययनका लागि यहाँस्थित सिक्लेस ‘इको म्युजियम’ पनि महत्वपूर्ण सहयोगी बनेको छ । सङ्ग्रहालयमा गुरुङ संस्कृतिको वेशभूषा, रहनसहन तथा परम्परालाई जीवन्तरुपमा झल्काउने सामग्री राखिएको छ । 

सङ्ग्रहालयमा यस आसपासमा पाइने दुर्लभ जडीबुटीहरु जस्तैः कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔंले र यार्सागुम्बाजस्ता जडीबुटी राखिनुले जडीबुटीको अध्येताका लागि पनि महत्वपूर्ण बन्ने गरेको छ । नेपालकै ठूलो गुरुङ बस्तीका रुपमा रहेको यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस ‘इको ट्रेक’भित्र पर्दछ । 

सिक्लेसको कला, संस्कृति र प्रकृतिप्रति बढ्दै गएको पर्यटकीय आकर्षण र यहाँ पर्यटकको बसाइँलाई लम्ब्याउनले लक्ष्यका साथ गाउँमाथि सिक्लेस पार्कको निर्माण कार्य थालनी गरिएको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष तीलमान गुरुङले जानकारी दिए ।

लगभग ६५ हजार वर्गमिटर क्षेत्रफलमा बन्दै गरेको पार्क निर्माणमा करीब रु ४० लाख खर्च भइसकेको उनले बताए । 

पार्कभित्र शौचालयसहित बालबालिकाका लागि खेल्ने विभिन्न संरचना, दृश्यावलोकन स्तम्भसहितका पूर्वाधारहरुको पनि निर्माण कार्य भइरहेको छ । 

लमजुङ हिमाल, अन्नपूर्ण–२, अन्नपूर्ण–४ का साथै वरिपरिको पहाडी भू–भागको एक साथ दृश्यावलोकन गर्न सकिनु निर्माणाधिन पार्कको विशिष्टता भएको उनको भनाइ छ । सिक्लेसमा पुग्ने पर्यटकका लागि खान–बस्न सहयोग पुर्‍याउने लक्ष्यका साथ १५ वटा घरमा घरवास (होमस्टे) सञ्चालन गरिएको छ भने १२ वटा होटेल छन् ।

यहाँ दैनिक ४०० जनासम्म पर्यटक राख्नसक्ने क्षमता रहेको छ । 

पोखराबाट ४० किलोमिटर उत्तरमा रहेको सिक्लेस विगतमा पदयात्राबाटै मानिस पुग्ने गरेपनि अहिले पदयात्राका साथै हिँड्न नसक्नेहरु गाडीबाट जाने गर्दछन् । गाडीबाट काँहु खोलाहुँदै ढाडबेँसी, काभ्रेखोला, छाचोक, मेल्चो, थाक, तप्राङ, चिप्ली र पार्चे हुँदै यात्रु सिक्लेस पुग्दछन् । (रासस)