
काठमाडौं, भदौ १६ । दशौं विश्व गिद्ध संरक्षण दिवसका अवसरमा आज गिद्ध जोगाउन चेतनामूलक कार्यक्रम गरिँदैछ ।
यो दिवस नेपालका साथै संसारभर मनाइँदै छ । दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवस विकसित भई सन् २००९ देखि अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो ।
गिद्ध आफैँले शिकार नगरी केवल मरेका प्राणीको सिनोमात्र खाने भएकाले वातावरणलाई प्रदूषण र दुर्गन्धरहित बनाउन यसको ठूलो भूमिका छ । एउटा गिद्धले औसत एक वर्षमा कम्तीमा १२० किलो सिनो खाएर वातावरण सफा राख्न मद्दत गर्ने बताइन्छ ।
गिद्ध आफ्नो आहारा खोजी गर्न सयौं किलोमिटरसम्म उड्न सक्दछ । गिद्धलाई प्रकृतिको कुचिकार पनि भनिन्छ ।
नेपालले गिद्ध संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध प्रजनन केन्द्र स्थापना गरी विभिन्न संस्थाको सहयोगमा वासस्थान संरक्षणसमेत गर्दै आएको छ । सन् १९९० को दशकसम्म नेपालसहित दक्षिण एशियामा उल्लेख्य पाइने गिद्धको संख्या अहिले घटेर लोपोन्मुख अवस्थामा पुगेको छ ।
नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानमा गरिएको वैज्ञानिक अनुसन्धानले गिद्धको संख्यामा कमी आउनुको कारण पशु उपचारमा प्रयोग गरिने ‘डाइक्लोफेनेक’ औषधि भएको पुष्टि भएको छ । २०६३ सालदेखि सरकारले यो औषधि प्रयोगमा प्रतिबन्ध पनि लगाएको छ ।
विश्वमा २३ प्रजातिका गिद्ध पाइनेमा नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये डङ्गर, सानो खैरो र लामो ठूँडे गिद्ध अति सङ्कटापन्न अवस्थामा छन् । लोपोन्मुख गिद्ध बचाउने उद्देश्यले नेपालमा सन् २००६ मा नवलपरासीको पिठौलीमा समुदायद्वारा सञ्चालन गरिएको विश्वकै पहिलो ‘जटायु रेस्टुरेन्ट’ स्थापना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्