३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


बिम्स्टेक सम्मेलनः ‘रिट्रिट’मा जे देखियो… (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी/दिलिप पोखरेल (इमेज)

काठमाडौं, भदौ १५ । नेपालले दुईदिने बिम्स्टेकको शिखर सम्मेलन सकाएको छ ।

स्थापनाको दुई दशकको अवधिमा चौथो शिखर सम्मेलन आयोजना गरेको नेपालले विशिष्ट अतिथिहरुलाई अनौपचारिक भेटघाटको मेलो मिलाउने ‘रिट्रिट’ भने सम्मेलनस्थलभन्दा टाढा लगेर गर्न सकेन ।

काठमाडौंको सोल्टी होटलमा सम्मेलन आयोजना गरेको नेपालले रिट्रिटका लागि चयन गरिएको गोकर्ण रिसोर्टसम्म पुग्ने सडकको अवस्था दयनीय भएपछि सोल्टी होटलकै बगैंचालाई अनौपचारिक भेटघाटको थलो चुन्नुपरेको हो ।

शुक्रबार बिहान सम्मेलनस्थल सोल्टी होटलमा आयोजना गरिएको रिट्रिटमा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/सरकारप्रमुख तथा उनीहरुका जीवनसाथी पनि सहभागी भए ।

रिट्रिटमा बिहानको खाजाको प्रबन्ध गरिएको थियो । आफ्नै भाषामा कुरा गर्न चाहने राष्ट्राध्यक्ष/सरकारप्रमुखका लागि दोभाषेको पनि व्यवस्था गरिएको थियो ।

विशिष्ट अतिथिहरुलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुर्‍याउने र प्रधानमन्त्रीले फेरि स्वागत गरेका थिए ।

होटलको पौडी पोखरीछेउमा मिलाइएको रिट्रिटमा विशिष्ट अतिथिहरु क्रमैसँगै सहभागी भए ।

सम्मेलनको उद्घाटनमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि ‘अल्फाबेटीकल्ली’ सहभागी राष्ट्रका प्रमुख र सरकार प्रमुखहरुले सम्बोधन गरेझैं रिट्रिटमा पनि सदस्य राष्ट्रका प्रमुखहरुलाई ल्याउने–लाने व्यवस्था मिलाइएको थियो ।

जसअनुसार सुरुमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद प्रवेश गरिन् भने अन्त्यमा थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा सहभागी भए ।

बिम्स्टेकका अध्यक्षका हैसियतले प्रधानमन्त्री ओली र उनकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकारप्रमुख तथा उनीहरूका जीवनसाथीलाई स्वागत गरिरहँदा त्यसअघि पञ्चकन्याले पुष्पगुच्छासहित स्वागत गरेका थिए ।

रिट्रिटमा बिम्स्टेक राष्ट्रका विदेशमन्त्री र राज्यमन्त्री पनि सहभागी थिए ।

औपचारिकरूपमा अभिव्यक्त गर्न नसकिने विषय उठाउने उपयुक्त अवसरकारूपमा यस्ता भेटवार्ता उपयोगी हुने गर्दछ ।

भिडियो हेर्नुहोस्