३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


विद्यार्थी र शिक्षकद्वारा जोमसोममा प्रदर्शन


0
Shares

सुन्दरकुमार थकाली (इमेज)

मुस्ताङ, भदौ १५ । विद्यार्थी कुटपिटको आरोपमा मुस्ताङको कोवाङबाट पक्राउ परेका शिक्षकलाई छोड्नुपर्ने माग गर्दै शुक्रबार विद्यार्थी र शिक्षकले जोमसोममा प्रदर्शन गरेका छन् ।

जनआदर्श माध्यमिक विद्यालय कोवाङका शिक्षक, कर्मचारी र विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

उनीहरुले आरोपित शिक्षकले ठूलो अपराध नगरेको र सामान्य घटनालाई ठूलो बनाइएको भन्दै जिल्ला प्रशासन कार्यालयमा छानबिनको माग पनि गरेका छन् ।

जुलुसले जोमसोम सदरमुकाम परिक्रमा गर्दै शुक्रबारै प्रशासनमा ज्ञापनपत्रसमेत बुझाइएको छ ।

गत शनिबार कक्षा–९ मा पढ्ने छात्रा मधु परियारलाई मोबाइल लुकाएको आरोपमा विद्यालयका शिक्षकले कुटपिट गरेका थिए । कुटपिटपछि पीडित परिवारको उजुरीकै आधारमा शिक्षकलाई पक्राउ गरिएको थियो ।

कुटपिटकै आरोपमा शिक्षक–शिक्षिका प्रकाश भारती, प्रकाश सुवेदी र प्रतीमा वान्तवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका शिक्षक–शिक्षिकालाई अभद्र व्यवहारसम्बन्धी सार्वजनिक मुद्दा दर्ता गरिएको छ भने पीडित बालिकाको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।