२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


माओवादी घटकहरू एकतावद्ध हुन आवश्यकः प्रधानमन्त्री दाहाल


182
Shares

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्पूर्ण माओवादी घटकहरुलाई एकतावद्ध हुन आग्रह गर्नुभएको छ ।

आइतबार शहीद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा वेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री दाहालले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरुलाई एकतावद्ध हुन आग्रह गर्नुभएको हो । उहाँले सबै माओवादीहरु एक ठाउँमा केन्द्रित हुने समय आएको बताउनुभयो ।

उहाँले विगतमा विभाजित भएर सबैले आ–आफ्नो अनुभवहरु समेटेको भन्दै एक-अर्काको अनुभवहरुलाई आफ्नै अनुभवको रुपमा लिएर एकतावद्ध हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले आफूले एकताका लागि सबैसँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने निकै अघि बढिसकेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आफूमाथि जनयुद्धका कमाण्डरको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न दबाब र घेराबन्दी बिरुद्ध लडिरहेको बताउनुभयो । उहाँले मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र धर्मेन्द्र बास्तोलाहरु पनि विभिन्न घेराबन्दीका विरुद्ध लडिरहेको आफूले देखेको भन्दै अब सबै मिलेर एक भएर लड्नुपर्ने बताउनुभयो ।

आफूहरु एक हुनु नै शहीद र वेपत्ता योद्धाहरुप्रति इमान्दार भएको ठहरिनु हुने उहाँको भनाइ छ । आफू तेस्रो पटक प्रधानमन्त्री भएसँगै जनयुद्धका शहीदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने लगायतका निर्णयहरु गराउन सफल भएको उहाँले बताउनुभयो ।