३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


म्याग्दीको ज्यामरूककोट पूर्वाधार निर्माणसँगै आकर्षणको केन्द्र बन्दै


0
Shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ मा रहेकाे ज्यामरुककोटमा पूर्वाधार निर्माण हुन थालेकाे छ ।

करिब ६ सय वर्ष पुरानो इतिहास र सम्पदाको साक्षी बनेर रहेको ज्यामरुककोतमा पूर्वाधार निर्माण हुन थालेपछि खड्गभवानी परिसर सबैको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको हाे ।

यहाँ विगत दुई वर्ष यता धमाधम विकासका पूर्वाधार निर्माण भइरहेका छन् । उक्त नगरपालिका, गण्डकी प्रदेश सरकार र खड्ग भवानी कोत व्यवस्थापन समितिको संयुक्त पहलमा पदमार्ग, प्रवेशद्वार, घेराबार, विभिन्न देवीदेवताका मन्दिर, टेलिकमको फोर जी टावर लगायतका पूर्वाधार निर्माण भएपछि पहिला सुनसान देखिने यो स्थलले सबैलाई आकर्षण गर्न सफल भएको हो ।

भकुण्डेदेखि खड्गभवानी कोत जोड्ने पक्की सिँढीसहितको २ सय ५० मिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेशको उद्योग वन, वातावरण तथा पर्यटन मन्त्रालय र नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयवासीको सक्रियतामा उकालो बाटोमा ३ सय ५३ वटा सिँढीसहितको पदमार्ग निर्माण भएपछि ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल खड्गभवानी कोत पुग्न सहज भएको छ ।

आर्थिक चालू वर्ष २०७५/०७६ मा भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट प्राप्त १४ लाख ९९ हजार ४ सय ८६ र उपभोक्ताको ३ लाख २१ हजार रूपैयाँ बराबरको श्रमदानमा उक्त पदमार्ग निर्माण गरिएको बेनी वडा नम्बर २ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । दुई मिटर फराकिलो पदमार्गको १ सय ९० मिटर दूरीमा फलामको रेलिङ राखिएको छ । पदमार्ग निर्माण भएपछि उकालो बाटोमा सहज र सुरक्षितरुपमा हिड्डुल गर्न सकिनाका साथै पर्यटकको समेत आवागमन बढेको स्थानीयले बताएका छन् ।

त्यसैगरी कन्थराज थानदेखि खड्गभवानी कोतसम्म जाने २ सय ४० मिटर पदमार्ग पनि निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक लगानीमा सो पदमार्ग निर्माण भएपछि अब दुुई तिरबाट नै खड्गवानी कोतमा पुग्न सजिलो भएको खड्गभवानी गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयाे ।

कोत परिसरबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा, चुरेन लगायतका १५ वटा भन्दा बढी हिमाल, धौलागिरी, गण्डकी क्षेत्रका ३३ भन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण जनजीवन, धार्मिकस्थल गलेश्वर, पञ्चकोट, म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा म्याग्दी नदी र कालीगण्डकीको नागबेलीसहितका प्राकृतिक सम्पदाको दृष्यावलोकन गर्न सकिन्छ ।

खड्गभवानी कोतस्थललाई राजधानी बनाइ वि.स. १२४६ देखि १५४५ सम्म थापा र त्यसपछि मल्ल राजाले ज्यामरुककोटमा राज्य गरेका थिए । उक्त कोतमा सय ७४ वर्ष पुराना अभिलेख, हतियार र पुरातात्विक महत्वका सामग्री रहेका छन् ।