
डीबी विष्ट
बझाङ, भदौ १५ । बझाङ जिल्लाका १२ वटा स्थानीय तहका प्रमुखहरुले आफुले गरेको कामप्रति आफैँ सन्तुष्ट नभएको बताएका छन् । आर्थिक बर्ष २०७४/०७५ को बार्षिक समिक्षा गोष्ठिमा गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुले एक बर्षभरी गरेका काम तथा गतिविधि सन्तोषजनक नभएको बताएका हुन् ।
विकास निर्माणका प्रयासहरु भइरहे पनि पहिलो बर्ष भएका कारण निकै चुनौती आएको छविसपाथीभेरा गाउँपालिकाका अध्यक्ष अक्कल धामीले बताए । तर पनि बजेट अनुसारको प्रगति विवरण पाउन मुस्किल भएको उनको भनाइ छ ।
५ बर्षको कार्यकाल पाएर जनप्रतिनिधि बनेकाहरुको कार्यकाल अब करीब चार बर्षमात्रै बाँकी छ । एक बर्ष कार्यकाल समाप्त भइसक्दा चुनावका क्रममा आफुहरुले जनाएका प्रतिवद्धता पुरा गर्न धेरैजसो जनप्रतिधिलाई हम्मेहम्मे परेको छ ।
केही गाउँपालिकाका प्रमुखले आफुले गरेका कामप्रति निकै सन्तुष्टि भएको बताएका छन् । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका ठाउँमा खानेपानीको समस्या समाधान गरेको, सडक, सिँचाई लगायतका विकास निर्माणका काम गरेको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकायाले बताए ।
ठूलो संघर्षपछि बनेको बझाङ जिल्लाको दुर्गम साईपाल गाउँपालिकाले भने अहिले निकै प्रगति गरेको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए । अँध्यारोमा बस्दै आएका वडा नम्बर ४ र ५ का जनताले बिजुली, खानेपानी, शिक्षा लगायतमा राम्रो पहुँच पाएको उनको भनाइ छ ।
सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहराले पनि आफुले एक बर्षको अवधिमा निकै प्रगति गरेको बताए । तर पनि सोचेजति सफल हुन नसकेको उनको भनाइ छ ।
तल्कोट गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्टले भने सबैका ईच्छा, आकांक्षा पुरा गर्न नसकिने भन्दै एक बर्षको अवधिमा भनेजति विकास निर्माणका काम गर्न नसकेको बताए । कर्मचारीको अभाव, दरबन्दीको समस्या, ऐन कानुनले समस्या पारेको भए पनि आफुहरु अहोरात्र जनताको समस्या समाधानमा खटिएको उनले बताए ।
सबै ठाउँमा गाउँपालिकाका पदाधीकारी तथा आफु पुग्न नसक्ने भएका कारण कतिपय ठाउँमा वडालाई जिम्मा दिएर भए पनि विकास निर्माणका कामहरु गर्ने गरेको केदार स्युँ गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर भण्डारीले बताए । योजना पाएका जनता खुसी भए पनि योजना नपुगेको स्थानका बासिन्दा असन्तुष्ट हुनु स्वाभाविक भएको उनको भनाइ छ ।
थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले भने आफु गाउँपालिकाको विकासमा लागिपरेको र पहिलेको तुलनामा अहिलेको निकै फरक पाएको तर्क गरे ।
स्थानीय बसन्त प्रताप सिंहले भने ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तै गाउँपालिका र नगरपालिकाहरुले खर्च गरेको बजेटमा आशंका भएको बताए । कुनै योजनाका लागि छुट्यार्ईएको रकम ७ लाख १२ हजार ५ सय २० रुपैया ९६ पैसा भए खर्च पनि पैसासहित गर्ने गरेको भन्दै उनले बजारमा प्रयोगमै आउन छाडेको दरमा कसरी खर्च हुन्छ भन्ने प्रश्न गरे ।
जनप्रतिनीधीहरुले बर्ष भरी गरेका काममा जनप्रतिनीहरु नै सन्तुष्ट हुन नसकिरहेको अवस्थामा सर्वसाधारण जनता सन्तुष्ट हुने कुरै भएन । बझाङ जिल्लाका कुनै पनि स्थानीय तहले जनताको मन जित्न सकेका छैनन् । कतिपय स्थानीय तहले जनताको करमा रजाई गर्ने गरेको आरोप समेत लाग्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्