
काठमाडौं । चोभार सुख्खा बन्दरगाह उद्घाटनको वर्षदिन पुग्नलाग्दा पनि प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेको छैन ।
इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बन्दरगाह पूर्णरुपमा सञ्चालनका लागि चाँडै फास्ट ट्रयाक बन्नुपर्ने बताउनुहुन्छ ।
सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको अन्तरक्रियामा कार्यकारी निर्देशक गजुरेलले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि पूर्वधार आइसोलेसनमा चल्न नसक्ने भन्दै बन्दरगाह पूर्ण रुपमा सञ्चालनको लागि तत्काल फास्ट ट्रयाक बन्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले बन्दरगाहमा व्यवसायीहरुले कन्टेनरमा ल्याउने सामान लामो बाटोबाट चोभार ल्याउनु भन्दा पनि वीरगञ्जबाट सिधै काठमाडौं ल्याउन खोज्नु स्वभाविक भएको बताउनुभयो । उहाँले बन्दरगाह भन्दा अगाडि सक्ने योजनाका साथ अघि बढेको फास्ट ट्रयाकको काम अहिलेसम्म नसकिएकाले सञ्चालनमा समस्या देखिएको बताउनुभयो ।
कार्यकारी निर्देशक गजुरेलले फास्ट ट्रयाक र रेल जडान भएपछि राम्रो हुने बताउनुभयो ।
उहाँले समितिको दायित्व बन्दरगाह सञ्चालन गर्ने मात्रै नभएर व्यापारलाई सहजिकरण गर्नुपनि रहेको भन्दै सोही अनुसार काम गरिरहेको दाबी पनि गर्नुभयो । बन्दरगाह सञ्चालनको लागि समितिले मात्रै नभएर भन्सारले पनि पहल गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्