
एजेन्सी । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्ना मन्त्री र सल्लाहकारलाई तलब र अन्य सुविधा नलिन अपिल गर्नुभएको छ ।
यसबाट देशको खजानामा वार्षिक २ सय अर्ब बचत हुने उहाँले बताउनुभएकाे हाे । योसँगै उहाँले नेताहरूलाई विलासी कारमा यात्रा नगर्न पनि आग्रह गर्नुभएकाे छ । उहाँले सरकारको खर्च कम गर्ने उद्देश्यले मन्त्रीहरूलाई इकोनोमी क्लासमा हवाई यात्रा गर्न आग्रह गर्नुभयो ।
पाकिस्तान सरकारले हाल अन्तर्राष्ट्रिय मुद्रा कोषबाट रोकिएको सहायताको किस्ता प्राप्त गर्ने प्रयास गरिरहेको छ । आईएमएफसँगको वार्ता सकिएपछि उसले १ अर्ब डलरको प्याकेज पाउन सक्छ । यसैबीच सरकारले मुलुकलाई आर्थिक सङ्कटबाट जोगाउन खर्च घटाउने प्रयास गरिरहेको छ ।
एकातिर पाकिस्तानको विदेशी मुद्रा सञ्चित घटेको छ भने मुलुकको मुद्रास्फीति ३५ प्रतिशत भन्दा माथि पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्