Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


शान्ति सम्झौता पक्षधरहरु एक ठाउँमा उभिनु पर्नेमा प्रधानमन्त्री दाहालको जोड


52
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाहृ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँमा उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताउनु भएको छ ।

सोमबार पोखराको लेखनाथमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो । उहाँले मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेको, राजनीतिमा दूषित हावा देखिएको, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा रहेको भन्दै बाहृ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए, फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो– ‘राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान हुनुपर्छ, राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो।’

उहाँले राज्यका मुख्य ठाउँहरूमा समझदारीसाथ अघि बढ्न सकिने भन्दै निश्चित व्यक्ति नभएर साझा सहमतिका आधारमा अगाडि बढ्नु पर्ने पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले दुई महिना जनताहरूमाझ गएर उनीहरूका रिपोर्ट ल्याउन पनि पार्टीका नेताहरूलाई निर्देशन दिनुभयो ।