Logo ३१ आश्विन २०८३, शनिबार | Sun Oct 18 2026


सत्तारुढ गठबन्धन कुनैपनि बेला टुट्न सक्छ : अध्यक्ष नेपाल


91
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दाबी गर्नुभएको छ ।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था पुगेको उल्लेख गर्दै राष्ट्रपति निर्वाचन पछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ ? भन्ने टुंगो लाग्ने समेत बताउनुभयो ।

आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टी निकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै उहाँले सबै पद आफैंले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हावी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने बताउनुभयो । त्यसका लागि अव एक हप्ता मात्रै पर्खे पुग्ने उहाँको भनाई थियो ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीमा कांग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान कि भन्ने चिन्ता छाएको पनि बताउनुभयो ।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भएको टिप्पणी गर्नुभयो । के–के न गरौंला भनेर आएको सो पार्टीमा पनि पदको आशक्ति बाहेक अरु केही पनि नदेखिएको उहाँले आरोप लगाउनुभयो । अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरी मण्डलेहरु जाग्न लागेको बताउनुभयो ।

उहाँले पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रिय सदस्य दूर्गा प्रसाईलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको तर्क समेत गर्नुभयो ।

त्यस अवसरमा अध्यक्ष नेपालले नेपालको भरपर्दो राजनीतिक पार्टीको रुपमा एकीकृत समाजवादीलाई स्थापित गराउने गरी पार्टीको काममा लाग्न पनि अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Skip This