२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


एमालेले सबैलाई मान्य हुने उम्मेदवार उठाउँछ : सचिव भट्ट


91
Shares

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताउनुभएको छ ।

बिहीबार प्रेस चौतारी कैलालीले अत्तरियामा गरेको पत्रकार सम्मेलनमा भट्टले सरकार गठनका बेला भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताउनुभयो ।

अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर गठबन्धन के हुन्छ भन्ने सबैको चासो रहेको बताउदै उहाँले राष्ट्रपतिका लागि गठबन्धनमा भएको सहमति अनुसार चयन हुने बताउनुभयो ।

उहाँले पार्टीले सबैलाई मान्य हुनेगरी उपयुक्त उम्मेदवार उठाउँने र गठबन्धन कायम रहने बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेर सबै दलको भावनाको प्रतिनिधित्व हुने राजनीतिक व्यक्तिलाई इंगित गरेको भन्दै भट्टले एमालेले पनि सोहीअनुसार उम्मेदवार बनाउने दाबी गर्नुभयो । राष्ट्रपति चुनावलाई लिएर गठबन्धन भत्किने सम्भावना नरहेको उहाँको भनाइ छ ।

सचिव भट्टले नागरिक उन्मुक्ति पार्टीले समर्थन नगर्दा सुदूरपश्चिममा एमाले सरकार ढलेको र कांग्रेस नेतृत्वको सरकार पनि संकटमा रहेको बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ एक मात्रै शर्त राखेको बताउँदै उहाँले मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले सरकारले चाहेर पनि तत्काल छुटाउन सक्ने अवस्था नभएको बताउनुभयो ।