
काठमाडौं । यातायात मजदुरको आन्दोलनका क्रममा यही फागुन १ गते बालाजुमा भएको घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ ।
उपत्यका प्रहरी कार्यालयका डीआईजी मसाउद आलम खाँको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको हो ।
फागुन २ गते बनेको समितिलाई ७ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउन समय दिइएको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिनुभयो ।
समितिमा काठमाडौं प्रहरी परिसरका एसपी सीताराम रिजालसहित उपत्यका प्रहरी कार्यालयका प्रहरी अधिकृतहरु रहेका छन् । उपत्यका प्रहरी कार्यालयबाट एसएसपी हिमालयन श्रेष्ठ, एसपी सानुराम भट्टराई र डएिसपपी खुमलाल भुसाल सदस्य छन् ।
बालाजुमा आन्दोलनका क्रममा प्रहरीका दुई वटा गाडीमा आगजनी भएको थियो । ४० बढी प्रहरी घाइते भएका थिए भने प्रहरीका विभिन्न सामग्री पनि जलेका थिए । त्यसक्रममा अस्थायी प्रहरी बिट पनि तोडफोड भएको छ ।
यसैबीच सो घटनामा संलग्न २५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । आन्दोलनका क्रममा ल्होत्से मलमा भएको लुटपाटमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि ४ जनालाई पक्राउ गरिएको थियो ।
योसँगै लुटपाटमा संलग्न पक्राउ पर्नेको संख्या १९ पुगेको छ । यसअघि बुधबार काठमाडौं प्रहरी परिसरले लुटपाटमा संलग्न ४ जना र प्रहरीको गाडी आगजनीमा संलग्न ६ जना गरी १० जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । बाँकी १५ जनालाई उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
अनुसन्धान कार्यालयले पक्राउ गरेका १५ जना ल्होत्से मलमा तोडफोड र लुटपाटमा संलग्न रहेका मुख्य व्यक्ति हुन् । उनीहरुलाई भिडिओका आधारमा पहिचान गरेर पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बुधबार विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि बालाजु वृत्त र महाराजगञ्ज वृत्तमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्