काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको पहिलो खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २८६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले माइकल भान लिगेनले १३३ रन बनाएपछि ५० ओभरमा सबै १० विकेट गुमाएर २८५ रन बनाएको हो । त्यसैगरी कप्तान जेर्हार्ड एरासमसले अर्धशतक प्रहार गरे । ११औं ओभरभित्रै दुवै ओपनर आउट हुँदा ४५–२ को अवस्थामा रहेको नामिबियाको इनिङ्स भान लिगेन र कप्तान जेर्हार्ड एरासमसले सम्हालेका थिए ।
भान लिगेनले १३७ बल खेल्दै ९ चौका र ५ छक्काको मद्दतमा १३३ रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसीले ५ विकेट लिए । करिब ६ महिनापछि राष्ट्रिय टोलीमा पुनआगमन गरेका सन्दीप लामिछानेले ६६ रन दिएर ३ विकेट लिए । सोमपाल कामीले र कुशल मल्लले १–१ विकेट लिए । टस जितेर फिल्डिङ रोजेको नेपालले जबाफी व्याटिङ गरिरहेको छ । नेपालका लागि कप्तान रोहित पौडेल र कुशल भुर्तेलले अर्धसतक पार गरेका छन् । उनले ओपनर कुशल भुर्तेलसँग ८५ रनको साझेदारी गर्दै ४७ बलमा ४ चौका र ३ छक्कासहित ५० रन बनाए । यो उनको एकदिवसीय क्रिकेटमा छैठौं अर्धसतक हो । नामिबियाविरुद्धको खेलमा अर्धसतकसंगै ओडिआई क्रिकेटमा रोहितको १ हजार रन पूरा भएको छ । रोहित ७२ रनमा आउट भएका छन् ।
ओपनिङमा आएका कुशलले पनि ५१ बलमा ५० रन पूरा गरे । नेपाल ३४ ओभरको समाप्तिमा १८९/३ को स्थितिमा छ ।






प्रतिक्रिया दिनुहोस्