
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगर फाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्ने क्रम बढेसंगै खेती योग्य जमिन नासिँदै गएको छ ।
जिल्लाको अन्न भण्डार र आग्र्यानिक खेतीको गाउँका रुपमा परिचित बगरफाँटमा पछिल्लो केही समय यता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कंक्रिणको शहरमा परिणत हुने जोखिम बढ्दै गएपछि यहाँका किसानहरु चिन्तित बनेका छन् ।
सदरमुकाम बेनी बजारसँगै जोडिएको र सबै किसिमका सुविधाहरुको पहुँचमा रहेको गाउँ भएको हुनाले यहाँको उर्वर भूमिमा पछिल्लो समय पक्की घर निर्माण गर्ने क्रम बढिरहेको छ।
आग्र्यानिकगाउँको रुपमा परिचित बगर फाँटमा अहिले ७ वटा पक्की घर निर्माण भएका छन् । उपल्लो फाँट र तल्लोफाँट (पलासेँ क्षेत्र)गरी दुई भागमा बाढिएको बगरफाँट जिल्लाकै अन्न भण्डारको रुपमा चिनिन्छ ।
जिल्लाका विभिन्न स्थानबाट बसाइ सरेर बगर फाँटमा घडेरी किनी घर बनाएर बस्ने व्यक्तिहरुका कारण उर्वर फाँट मासिँदै गएको स्थानीयहरुले बताएका छन् ।
सदरमुकाम बेनी बजारसँगै जोडिएको बगरफाँटमा बजारको तुलनामा घडेरी निकै सस्तोमा पाइने हुनाले पनि बेनी बजारमा भन्दा यहाँ घडेरी किनेर घर बनाउने आकर्षण बढेको हो ।
बजारमा प्रति हात ५ लाखको हाराहारीमा घडेरी विक्रि हुने गरेको भए पनि यहाँ प्रतिहात १ देखि १ लाख ५० हजार मूल्यमा घडेरी पाइँदा घडेरीको खोजीमा मानिसहरु बगर फाँटमा आउने गरेका हुन् ।
हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरंजा सडक निर्माण भएपछि बगरफाँटमा बस्ती विस्तार र जग्गाको किनबेच हुने क्रम बढेको स्थानीय.मीनबहादुर कार्कीले बताउनुभयो । यही क्रममा बस्ती विस्तार हुँदै जाने हो भने केही समय पछि बगर फाँटको उर्वर भूमि सखाप हुने उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्