
काठमाडौं । पूर्व एमाले नेता एवं वर्तमान नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले एमाले सांसद एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थतन्त्रको सुधार र न्युनतम साझा कार्यक्रमको तादात्म्यता कसरी मिल्यो भन्दै प्रश्न गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले सभासमक्ष पेस गर्नुभएको आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक समीक्षामा प्रश्न गर्दै अर्थतन्त्रको सुधार र न्युनतम साझा कार्यक्रमको तादात्म्यता कसरी मिल्यो भन्दै प्रश्न गरेका हुन् ।
बैठमा पूर्व एमाले नेता एवं वर्तमान नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले अहिलेको अर्थतन्त्रको सुधार ल्याउने कुरा र नयाँ कार्यक्रमलाई पूरा गर्नेकुरा कसरी तादात्म्यता हुनसक्ला ? भनेर नेकपा एमालेबाट उपप्रधान एवं अर्थमन्त्री बन्नुभएका पौडेललाई प्रश्न गर्नुभयो । उहाँले स्वदेशी मालले बजार नपाउने र ओपन बोर्डरबाट भन्सार नतिरि चोरी गरेर ल्याइएका सामानले ठाउँ लिने हो ? भन्दै प्रश्न गर्नुभयो । सांसद पाण्डेले अर्थमन्त्रीले प्रश्तुत गर्नुभएको अर्थतन्त्र सुधारको योजनामा आफूलाई कुनै योजना नलागेको बताउनुभयो ।
त्यस्तै, पूर्व एमाले नेता एवं वर्तमान नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले गौरवका आयोजनाहरु अलपत्र रहेको बताउनुभयो । ति आयोजनामा बजेट सुनिश्चित गर्ने, टेण्डर गर्ने, तर त्यसको कार्यान्वयन नगर्ने, बजेट नपठाउने खालको बेथिति रहेको भन्दै त्यसलाई कसरी अन्त्य गर्नुहुन्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले बैंकिङ तरलता अभाव समाधानको के उपाय छ ? पुराना नोट खिचेर हुन्छ की ? अन्य केही विकल्पहरु छन् की त्यसतर्फ सरकारले ध्यान दिएको छ की छैन ? भन्ने प्रश्न उहाँको थियो । वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरुको ब्याजदर घटाउने बारेमा, ब्याजदर नघटाएसम्म तरलता अभाव समाधान गर्न नसकिनेतर्फ ध्यानाकर्षण गराउँदै त्यसतर्फ सरकारको के कार्यक्रम छ भन्दै प्रश्न गर्नुभयो । पुँजीगत खर्च बढाउने, साधारण खर्च घटाउने, प्रशासन खर्च कटाउने र फजुल खर्च अन्त्य गर्न के कार्यक्रम छ ? भन्ने उहाँको प्रश्न थियो ।
सांसदहरुको प्रश्नमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक काम गरिरहेको बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्