Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


रवि लामिछानेको राहदानी सम्बन्धी कागजात सरकारी वकिलको कार्यालयले मगायो


845
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दोहोरो राहदानी लिएको भन्दै परेको उजुरीमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले कागजात संकलन सुरु गरेको छ ।

सभापति लामिछानेको राहदानी सम्बन्धमा मंगलबार जाहेरी परेपछि बुधबार सरकारी वकिलको कार्यालयले विभिन्न तीन निकायबाट लामिछानेको नागरिकता र राहदानीसम्बन्धी कागजात मगाएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणी नेउपानेका अनुसार अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र राहदानी विभागलाई बुधबार पत्राचार गरी लामिछानेको राहदानी र नागरिकतासम्बन्धी कागजात मगाएको छ ।

लामिछानेले अमेरिकी नागरिकका हैसियतमा नेपाल आई राहदानी लिएर फौजदारी अपराध गरेको विषयमा अनुसन्धान गरी कारबाही गरिपाउँ भनी परेको निवेदन प्रहरीले दर्तासम्म गर्न नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस भएको थियो । लामिछानेको राहदानी सम्बन्धमा छानबिन गरिपाउँ भनेर युवराज पौडेलले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा मंगलबार निवेदन पेस गर्नुभएको हो ।