Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


पाकिस्तानी दूतावासद्वारा काश्मीर ऐक्यबद्धता दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना


39
Shares

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले काश्मीर ऐक्यबद्धता दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
दूतावासमा आयोजना गरिएको सो कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको सन्देश पढेर सुनाइएको थियो । सन्देशमा पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले काश्मिरी जनताको आत्मनिर्णय र न्यायको लडाईमा पाकिस्तानले सदैव साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा सन् २०१९ को अगस्ट ५ मा भारतले संविधानमा भएको धारा ३७० निस्क्रिय पादै जम्मु–काश्मीरलाई दिएको विशेषअधिकार एकतर्फी ढंगले खोसेको आरोप पनि लगाउनुभएको छ ।

त्यसैगरी पाकिस्तानका प्रधानमन्त्री मोहम्मद सहबाज सरिफले आफ्नो सन्देशमा जम्मु–काश्मीरमा भारतीय सेनाले अनाधिकृत रुपमा कब्जा जमाएको भन्दै त्यहाँबाट भारतीय सेना हट्नुपर्ने र संचारमाथि लगाइएको प्रतिबन्ध हटाइनुपर्नेमा जोड दिनुभएको छ । उहाँले काश्मीरको समस्या काश्मिरी जनताको मतबाट टुंगो लगाउने संयुक्त राष्ट्रसंघको प्रस्तावको कार्यान्वयन गराउन दबाब दिन अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल पनि गर्नुभएको छ । यस्तै पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारीले काश्मिरी जनतालाई मानव सम्मान र संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव अनुसार आत्मनिर्णयको अपरिहार्य अधिकारको लागि न्यायपूर्ण संघर्षमा पाकिस्तानको बलियो र अटल समर्थनलाई रहने सन्देशमा उल्लेख गर्नु भएको छ ।

कार्यक्रममा दूतावासका कार्यबाहक राजदूत उमैर अलीले जम्मु–काश्मिरका जनताको शान्तिपूर्वक बाँच्न पाउने अधिकार र आत्म निर्णयको अधिकारका लागि राष्ट्रसंघीय प्रस्ताव पारित गराउन अन्तर्राष्ट्रिय समुदायको पनि सहयोगको खाँचो रहेको बताउनु भयो ।

कार्यक्रममा अन्य सहभागीहरूले कश्मीरमा मानवअधिकारको बिग्रँदै गएको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए। उनीहरुले क्षेत्रीय शान्ति र समृद्धिका लागि क्षेत्रीय राजनीतिक र सुरक्षा स्थितिमा सुधार हुनुपर्नेमा जोड दिएका थिए ।