३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


राम्रो व्यवस्थापन भएमात्र कांग्रेस बलियो हुन्छ : नेता पौडेल


0
Shares

चितवन, असार ४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा कांग्रेसले पराजय भोग्नु परेको बताएका छन् ।

पत्रकारहरुसँगको कुराकानीमा उनले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै जाने बताए ।

पार्टी विधानअनुरुप चल्नु पर्नेमा जोड दिँदै नेता पौडेलले पार्टीलाई स्वच्छ, पारदर्शी ढङ्गले चलाउन र आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिए । पार्टी व्यवस्थापनभन्दा पनि अहिले जेनतेन चलिरहेको बताउँदै उनले अब कसरी चल्छ हेर्दै जाने उल्लेख गरे ।

मंगलबारदेखि हेटौँडामा हुने जिल्ला सभापतिहरुको भेलामा उनीहरूको विचारलाई समेटेर पार्टीलाई अघि बढाउन सहज हुने नेता पौडेलले बताए । सभापतिहरुले प्रदेशहरुमा छलफल गरी पार्टीको विधान, संगठन, निर्वाचनको मूल्याङ्कन गर्दै आ–आफ्ना धारणा राख्ने र यसले पार्टीलाई भविश्यमा कसरी सुदृढ बनाउने भन्ने विषयमा सहयोग पुग्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको नेतृत्वले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न नसकेको प्रमाणित गराएको बताए । उनले भने, ‘पार्टीलाई सुधार्नु पर्‍यो, संस्थागतरुपमा चलाउनुपर्‍यो, नियमसंगतरुपमा पार्टी अगाडि बढ्नुपर्‍यो ।’

कार्यकर्ताको भावनाअनुसार पार्टी नचलेको भन्दै उनले अब पार्टीलाई संस्थागतरुपमा चलाउनुपर्नेमा जोड दिएका छन् ।

नेतृत्वको कमजोरीका कारण पार्टीले निर्वाचनमा हार व्यहोर्नु परेको उनको भनाइ थियो ।

हेटौँडामा हुने सभापतिको भेलामा सहभागी हुन पौडेल र सिंह आज चितवन आएका हुन् । (रासस)