काठमाडौं, भदौ १३ । एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत् बुधबार पहिलो खेलमा नेपाल ओमनसँग ७ विकेटले पराजित भएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमनले ४८ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
ओमनका लागि खवार अलीले अविजित ८४ रन बनाए । उनले ९६ बल खेल्दै ४ छक्का र ६ चौका हाने ।
कप्तान जीसन मक्सुदले अविजित ४५, भैभव वाटेगोन्करले ४१ तथा जतिन्दर सिंहले ३० रनको योगदान दिए ।
बलिङतर्फ कप्तान पारस खड्का एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित् ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो ।
सागर पुनले ८३ रन बनाए । ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले ३६ तथा करण केसीले अविजित २६ रन बनाए ।
ओमनका विलाल खान, मोहम्मद नदिम र अजय लालचेताले २/२ विकेट लिए ।
बुधबारै सम्पन्न अर्को खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले सिंगापुरलाई २१५ रनले पराजित गर्यो ।
प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ सहभागी छन् ।
प्रतियोगिताको उत्कृष्ट टोलीले यही भदौ ३० गतेदेखि युएईमा हुने एसिया कपमा खेल्नेछ । रासस








प्रतिक्रिया दिनुहोस्