Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


खर्च कटौती गर्न सबै स्थानीय तहलाई मन्त्रालयको परिपत्र


234
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका स्थानीय तहलाई खर्च कटौतीको लागि परिपत्र गरेको छ ।

मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति र ७५३ वटै स्थानीय तहलाई आर्थिक वर्ष २०७९/०८० को चालु तर्फको अनिवार्य बाहेक २० प्रतिशत खर्च कटौती गर्न परिपत्र गरेको हो ।

अर्थ मन्त्रालयले माघ १७ गते निर्णय गरेर सबै प्रदेश र स्थानीय तहमा आ.व. २०७९/०८० को चालु तर्फको अनिवार्य बाहेक २० प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको थियो ।

२० प्रतिशत खर्च कटौती हुने खर्च शिर्षकहरुमा कर्मचारी तलब खर्च, जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च, अन्य भ्रमण खर्च, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च, फर्निचर तथा फिक्चर्स खर्च, विविध कार्यक्रम खर्च इन्धन खर्चलगायत छन् ।

देश आर्थिक संकटतर्फ अगाडि बढेको भन्दै वर्तमान सरकारले ल्याएको साझा न्युनतम कार्यक्रममा आधारित भएर अर्थमन्त्री विष्णु पौडेलले खर्च कटौतीको निर्णय गर्नुभएको थियो ।