२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


नेपालमा पनि मानसिक समस्या बढ्दै


234
Shares

काठमाडाैं । पछिल्लो समय नेपालमा पनि मानसिक समस्या बढ्दै गएको एक अध्ययनले देखाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको कुनै रोग वा दुर्वलता उपस्थित नहुनु मात्र होइन बरु शारीरिक, मानसिक तथा सामाजिक समग्रमा स्वस्थ हुने अवस्था हो । हामी शारीरिक रुपमा समस्या सानो भएपनि तत्काल अस्पताल लाग्छौं। तर मानसिक तथा सामाजिक रुपमा जति अस्वस्थ भएपनि त्यसको बेवास्ता गर्छौं । शरीर स्वस्थ रहनका लागि मन स्वस्थ हुनु अपरिहार्य छ । मानसिक स्वास्थ्य बिना स्वास्थ्यको परिकल्पना नै अधूरो र अपूरो हुने गर्छ ।

मानसिक रूपमा स्वस्थ व्यक्तिहरुले आफ्नो क्षमताको सही पहिचान गरी जीवनका विभिन्न परिस्थिति सामना गर्दै उत्पादनशील जीवनयापन गर्न सक्षम हुन्छन् । मानसिक रुपमा अस्वस्थ हुनु भन्नाले मगज बिग्रिनु वा पागल हुनु होइन, बरु मनमा अन्तरद्वन्द्व, अनावश्यक डर, त्रास, उदासीपन, खुशीको अनुभूति नहुनुका साथै तनाव सहन सक्ने क्षमता कम हुनु, व्यक्तिगत तथा सामाजिक जीवनबीच सन्तुलन कायम राख्न सक्षम नहुनु, उत्पादनशीलता एवं वाैद्धिक क्षमतामा ह्रास आउनु तथा मानसिकतामा असामान्य परिवर्तन हुनु हो ।

तर नेपाली समाजमा भने मानसिक समस्यालाई पागलपन मानेर त्यसको उपचार गर्नै नजाने र आफैँले समस्या समाधान गर्न लाग्ने तथा अन्य नजिकका मानिसहरुले थाहा नपाउन भन्ने हिसाबले लुकाउने गरेको पाइन्छ । मानसिक व्यथाको प्रवृति शारीरिक पीडा भन्दा बिल्कुलै फरक हुन्छ । यही असहनीय पीडाकै कारण बिरामीहरु आफू मर्न वा अरुलाई मार्न समेत पछि पर्दैनन् ।

विश्वमा हुने आत्महत्याहरुको प्रमुख कारण मानसिक अस्वस्थता नै रहेको एक अध्ययनले देखाउँछ । प्रायः हत्याकाण्डहरु पनि मानसिक वा सामाजिक विकृतिकै कारण हुने गरेको विज्ञहरुले बताउँदै आएका छन् । त्यसैले पनि हामीले मानसिक रुपमा अस्वस्थ व्यक्तिहरुको समयमै उपचार गरायौं भने बिरामीहरुलाई एउटा नयाँ जीवन प्रदान गर्न सक्दछौं ।

नशा तथा मनोरोग विशेषज्ञ डा. प्रदीप पाण्डेले संचारकर्मीसँग कुराकानी गर्दै न्युरो साइक्याट्रिक भनेर भन्छौँ हामी र यसमा खास किन न्युरो साइक्याट्रिक अथवा साइक्याट्रिकमा चाहीँ नशा कसरी जोडियो भन्ने कुरा आउने बताउनुभयाे । न्युरो साइक्याट्रिक भनेकै मन सम्बन्धीको विषय भएकाे उहाँकाे भनाइ छ । डा.पाण्डे अल्का अस्पतालमा नशा तथा मनोरोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।

उहाँले भन्नुभयाे,-‘मन भनेपछि हामी मुटुलाई हेर्छौं । खास मन भनेको चाहीँ वी आर टकिङ अवाउट द माइण्ड एण्ड बेर्न । हामी माइण्ड र ब्रेनको बारेमा कुरा गर्छौं । ब्रेन जोडिने बित्तिकै ब्रेनसँग हजारौँ न्युरोन्सहरु जोडिन्छ । त्यहीँबाट मन, विचार उत्पादन भइरहेको छ । त्यही भएर हामीले न्युरो साइक्याट्रिक भनेका हौँ । यो नशासँग जोडिएकै विषयवस्तु हो । अब यसका के, कस्ता लक्षणहरु हुन्छन् भन्दा, यसको सयौँ रोगहरु छन् । यसमा खासगरी हुने लक्षणहरु भनेका निन्द्रा नलाग्ने, टाउको दुख्ने, डर लाग्ने, ढुकढुक हुने, आत्तिने, मर्छु जस्तो लाग्ने, शंका लाग्ने, अरु कसैले मलाई बिर्गान लागे, मार्न लागे, मेरो बारेमा कुरा गरिरहेको छ कि भनेर शंका, उपशंकाहरु हुने । मन निराश हुने, दिक्क लाग्ने, कुरा खेल्ने, नरमाइलो लाग्ने, आत्महत्याको महशुस हुने । चुरोट, रक्सी, खैनी, गाँजा, ट्याब्लेट, इन्जेक्शनहरुको सेवन गर्ने, हातखुट्टा झमझम ग¥यो । पोल्यो, ज्यान दुख्यो भन्ने । त्यस्तै बेहोसीको समस्या । सास फेर्न गाह्रो हुने । सेक्सुअल प्रोब्लम, डिजायरहरु कम हुने । यसमा धेरै खालका समस्याहरु हुन्छन् । सामान्य समस्या तपाईलाई अचम्म लाग्ला पेटसम्बन्धी समस्या पनि मनको कारणले गर्दा हुनसक्छ । ग्यास टाइटिक (ग्याष्ट्रिक) को औषधि खाँदाखाँदा सन्चो नभएपछि आजकाल पेटकै डाक्टरहरुले पनि हामीकहाँ पठाउनुहुन्छ । ग्यास टाइटिक सन्चो भएन, उल्टी भयो । साइकोजेनिक बोमेटिङ भन्छौँ हामी । मनको कारणले गर्दा डाइरिया हुने, मुटु ढुकढुक हुने, छाती दुख्ने, मन भारी हुने मान्छे गंगालाल गएर देखाउनुहुन्छ, केही पनि छैन भनेर भन्दिनुहुन्छ । लास्टमा फेरि उहाँहरु हामी भएको ठाउँमा आउनुहुन्छ मुटुको समस्या लिएर । हेर्दाखेरी मुटुको लक्षणजस्तो देखिन्छ तर रियालिटीमा मनको समस्या । सबै ब्रेनले गरिरहेको छ । कोही हात चलेन भन्दै आउनुहुन्छ । औँलाहरु लाटो भयो, हातखुट्टा दुख्यो, झमझम भयो भन्दै आउनुहुन्छ ।’

कोही बिरामी बेहोसीमा परेर आउनुहुन्छ र कोही टाउको दुखेर उल्टी भएर आएकाे उहाँले बताउनुभएकाे हाे । विभिन्न लक्षणहरु नशा र मनसँग जोडिएर बिरामी आउने गरेकाे उहाँले बताउनुभयाे ।