३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


गौरापर्वका लागि भारतबाट घर फर्किनेको लर्को


0
Shares

विनोद सिंह विष्ट

बैतडी, भदौ १३ । सुदूरपश्चिमेलीहरुको महानपर्व गौरा नजिकिएसँगै रोजगारीका लागि भारत गएकाहरु घर फर्कन थालेका छन् ।

बैतडीको भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट घर फर्कनेको लर्को लागेको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । 

रोजगारीका लागि भारतका विभिन्न शहर गएकाहरु गौराका लागि घर फर्कन थालेका हुन् । दैनिक दुई सयभन्दा बढी नागरिक झुलाघाटबाट नेपाल भित्रिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

रोजगारीका लागि भारत छिरेका सुदूरपश्चिमका पहाडी जिल्लाका नेपाली नागरिक गौराका लागि घर फर्कने गर्दछन् । 

भदौ १५ गतेबाट गौरा शुरु हुने भएकाले गौराका लागि घर फर्केको सुर्नया गाउँपालिका–६ का प्रकाश अवस्थीले बताए । सुदूरपश्चिमका पहाडी जिल्लामा विशेष रुपमा मनाइने गौरापर्वका लागि घरबाहिर भएकाहरु घर फर्कने चलन रही आएको छ । 

सुदूरपश्चिममा मनाइने गौरामा नयाँ नयाँ लुगा लगाउने, परिवारका सबै सदस्य एकै ठाउँमा बसेर मिठोमसिनो खाने चलन रहेकाले रोजगारीका लागि भारत पसेकाहरु घर फर्कने गरेका छन् । यहाँका अधिकांश नागरिक रोजगारीका लागि भारत जाने गरेका छन् ।