३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


सल्यानमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु


0
Shares

सल्यान, भदौ १३ । सल्यानमा गएराति घरले च्यापिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उनकी ३५ वर्षीया श्रीमती रामकला कामी, ६ वर्षीया छोरी गङ्गा कामी, पाँच वर्षीया छोरी प्रमिला कामी र चार वर्षीय छोरा रुपलाल कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

मृतक रामसिंहको एकतले घरको दलिन र पर्खाल भत्किएपछि च्यापिएर पाँचको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

घटनालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि सिमाखोली प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय थारमारेबाट गएको टोलीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

अहिले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको शाहीको भनाइ छ । 

घटनामा परेकी मृतककी ११ वर्षीय छोरी सुनिता कामीलाई जीवितै उद्धार गरिएको छ । अहिले सुनिताको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । (रासस)