इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय


442
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सत्ता गठबन्धनको तर्फबाट उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ ।

शुक्रबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपसभामुखको उम्मेदवारका रुपमा पार्टीकी सांसद सोविता गौतम प्रस्तावक रहनुहुने भएको छ । झापाकी मगर समानुपातिक सांसद हुनुहुन्छ ।

उपसभामुखमा यसअघि सांसद सोविता गौतमको चर्चा भएपनि पार्टीले भने मगरलाई अघि सारेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद गौतमले मगर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिएको र कानूनको बारेमा पनि ३३ वर्षे अनुभवका कारण उपसभामुखमा पठाउने सर्वसम्मत निर्णय गरेको बताउनुभयो ।

उपसभामुखका लागि निर्वाचन शनिबार हुँदैछ । शुक्रबार उपसभामुखको उम्मेदवारी दिनुपर्नेछ । शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ । शनिबार प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्नेछ ।

सभामुखमा सत्ता गठबन्धनको समर्थनमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

सत्ता गठबन्धनले उम्मेदवारको टुंगो लगाएसँगै प्रतिपक्ष दलहरु पनि उपसभामुखको उम्मेदवार टुंगो लगाउन बैठक बसिरहेको छ ।