
काठमाडौं, भदौ १२ । शिक्षा मन्त्रालयले नयाँ पाठ्यक्रमको प्रारुप पास गरेको छ ।
पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद सानोठिमी, भक्तपुरले गत जेठमा बनाएको पाठ्यक्रमको प्रारुप पास भएको हो ।
नयाँ पाठ्यक्रमअनुसार अब कक्षा–११ र १२ मा सातओटा विषय पठनपाठन हुनेछ ।
अहिलेसम्म पाँचओटा विषयमात्रै पढाइ हुने गरेकामा अब चारओटा अनिवार्य र तीनओटा ऐच्छिक विषयको पठनपाठन हुने पाठ्यक्रम मूल्यांकन परिषदका प्रमुख कृष्णप्रसाद काप्रीले जानकारी दिए ।
जसमध्ये नेपाली, अंग्रेजी, सामाजिक शिक्षा र जीवन उपयोगी शिक्षालाई अनिवार्य गरिएको छ भने ऐच्छिक विषय विद्यार्थीले छनोट गर्नुपर्नेछ ।
आगामी शैक्षिकसत्रदेखि लागू गर्नेगरी तयार पारिएको पाठ्यक्रममा कक्षा–९ र १० को पाठ्यक्रम पनि परिवर्तन गरिएको छ ।
कक्षा–९ र १० को पाठ्यक्रमबाट स्वास्थ्य तथा जनसंख्या विषय हटाइएको छ भने कक्षा–६ देखि ८ सम्म पढाइँदै आएको पेसा तथा व्यवसाय विषय हटाइएको छ ।
अब कक्षा–९ र १० मा पाँचओटा अनिवार्य र दुईओटा ऐच्छिक गरी ७ ओटा विषय पढाइनेछ ।
प्रतिक्रिया दिनुहोस्