मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै « Imagekhabar – Online News Portal of Nepal
२३ माघ २०७९, सोमबार | Mon Feb 6 2023


मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

'आजै सभामुखको पनि निर्वाचन हुँदै'

104
Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।

संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले मंगलबार प्रदेश सभामा विश्वासको मत लिन लाग्नु भएको हो ।

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मतको प्रस्ताव राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत बुधबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको जसपा नेता यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनु भएको थियो । उहाँलाई ७२ जना सांसदको समर्थन छ । मधेस प्रदेशसभामा १ सय ७ सदस्य छन् ।

यसैगरी, प्रदेश सभाको सभामुखको निर्वाचन पनि मंगलबार नै हुँदैछ । सभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले) का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जंगीलाल रायको उम्मेदवारी दर्ता गर्नु भएको छ ।

सोमबार नै सभामुखको निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यतालिका थियो तर पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय शोकको बिदा घोषणा गरिएपछि बैठक स्थगित गरेको थियो ।

सत्ता साझेदार दलहरुले सभामुख, उपसभामुख र मुख्यमन्त्री पदको बाँडफाँटको टुङ्गो केन्द्रबाटै लगाएका छन् । सोही सहमति अनुसार जनता समाजवादी पार्टीले मुख्यमन्त्री पाएको छ । एमालेले सभामुख र जनमत पार्टीले उपसभामुख पाउने भएका छन् ।