
दीपक श्रेष्ठ/राममान डंगोल (इमेज)
काठमाडौं, भदौ १२ । बिम्स्टेकको चौथो शिखर सम्मेलनका लागि काठमाडौंको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।
विशिष्ट अतिथिको सुरक्षाका लागि कुनै कसर बाँकी नराख्नेगरी सुरक्षा व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सरकारले सुरक्षा व्यवस्था मजबुद् पारेको छ ।
बिहीबार र शुक्रबार काठमाडौंमा हुने सम्मेलनस्थल, सम्मेलनमा आउने राष्ट्रप्रमुख तथा प्रतिनिधि बस्ने होटल र उनीहरूको आवजावत हुने क्षेत्रको सुरक्षामा सरकारले देशका चारओटै सुरक्षा निकायलाई तैनाथ गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विशिष्ट अतिथिको सुरक्षामा कुनै कमी आउन नदिने दाबी गरे ।
बिम्स्टेक शिखर सम्मेलनमा नेपालसहित सदस्य राष्ट्र भारत, म्यानमार, थाइल्यान्ड, भुटान, बंगलादेश र श्रीलंकाका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरु सहभागी हुँदैछन् ।
सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।
चारओटै सुरक्षा निकायका १८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिँदैछ ।
नेपाली सेनाको कमान्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिनेछन् ।
अतिविशिष्ट व्यक्तिको तीन घेरामा सुरक्षा मिलाइएको छ । पहिलो घेरामा नेपाली सेना रहनेछ । दोस्रो घेरामा नेपाल प्रहरीको सुरक्षा तैनाथ रहनेछ । सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले भने तेस्रो घेरामा रहेर सुरक्षा दिनेछन् ।
साथै, सम्मेलनभर नेपाली सेनाले हवाईगस्तीसमेत गर्नेछ ।
सवारी–साधनमा जोर–बिजोर
भदौ १३ गते र सम्मेलन हुने दिन भदौ १४ गते तथा १५ गते उपत्यकाभित्र चल्ने सम्पूर्ण निजी तथा भाडाका सवारी–साधनमा ट्राफिक प्रहरीले जोर–बिजोर प्रणाली लागू गर्ने भएको छ ।
विशिष्ट व्यक्तिको आगमन हुने स्थानमा सवारीको एक घन्टाअगाडि र पछाडि सम्पूर्ण सवारी आगमन ठप्प पारिनेछ ।
प्रतिक्रिया दिनुहोस्