
सुशील गैरे
कपिलवस्तु । जाडो छल्न कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको बुड्ढी तालमा आएका चरा असुरक्षित भएका छन् । नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपका विकास गर्दै आएको बुड्ढी तालमा आएका चरा स्थानीयले मार्न थालेपछि असुरक्षित बनेका हुन् ।
जाडो मौसम सुरु भएसंगै जाडो छल्न बुद्धभूमि नगरपालिकाको बुड्ढी तालमा आएका आगन्तुक चार असुरक्षित भएका छन् । तालमा रहेका पानी चरा, जाडो छल्न आएका आगन्तुक चरा, रैथाने चराहरूलाई स्थानीयले पासोमा फसाउने, गुलेलीले हानेर मार्न थालेपछि चरा असुरक्षित बनेका हुन् ।
स्थानीयले तालको आसपासमा जथाभावी रुपमा माछा मार्न जाल थाप्ने गरेका छन् । जसका कारण चराहरू मानिस नजिक देखेपछि उडेर भाग्ने गरेका छन् । गत शुक्रबार चरा गणना गर्ने क्रममा तालको आसपासमा माटिकोरे (किंग फिसर) चरा, हुँचिल (लाटोकोसेरो)को प्वाँखसमेत फेला परेको चरा गणनामा खटिनु भएका चरा संरक्षण संघका फिल्ड बायोलोजिस्ट दिलीप चन्दले बताउनुभयो ।
केही वर्ष पहिले तालमा निकै चरा आउने गरेपनि पछिल्लो समय तालमा जाडो छल्न आउने चराको संख्या घटेको स्थानीयको भनाइ छ । जाडो छल्न आउने आगन्तुक चराको उचित संरक्षणमा स्थानीय सरकारले चासो नदेखाउने र चराको चोरी शिकारी हुँदा आगन्तुक चरा घट्दै गएको स्थानीय पम्फा नेपाली बताउनुभयो ।
करिब ७ सयदेखि ८ सयको हाराहारीमा चरा देखिएको र २१ प्रजातिका चरा फेला पारेको पन्छी संरक्षण संघले जनाएको छ । तालमा सबैभन्दा धेरै संख्याका आगन्तुक चरा सिलसिले हाँस रहेको बताइएको छ । जाडो छल्न आएका आगन्तुक चरालाई सुरक्षित वासस्थानका लागि नगरपालिकाले ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्