
दीपक घिमिरे/ईमेज:
भैरहवा । बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउने श्रीलंका र म्यानमारका राष्ट्रपतिले बुद्धको जन्मस्थल लुम्बिनीको समेत भ्रमण गर्ने भएका छन् ।
जसका लागि लुम्बिनीमा सरसफाईदेखि अन्य तयारी धमाधम अगाडि बढाइएको छ ।
म्यान्मारका राष्ट्रपति विन मिन्ट र श्रीलंकका राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनी भ्रमणमा आउने भएसँगै यतिबेला लुम्बिनी क्षेत्रमा तयारीको चहलपहल देख्न सकिन्छ ।
सम्मेलन सुरुहुनु अघि भदौ १३ गते म्यानमारको राष्ट्रपति आउने र भदौ १६ गते श्रीलंकाका राष्ट्रपति आउने कार्यक्रम छ ।
सोही कार्यक्रम अनुसार लुम्बिनी क्षेत्रमा सरसफाइ र सिगाँरपटार गरी चिरिच्याट्ट बनाइएको छ ।
म्यानमारका राष्ट्रपति काठमाडांै भैरहवा विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टरमार्फत् लुम्बिनी जाने छन् ।
तर टोलीका अन्य सदस्य भने सडकबाटै लुम्बिनी पुग्नेछन् । लुम्बिनी पुगेर मायादेवी मन्दिरको अवलोकन र पुजाआजा गर्ने कार्यक्रम छ ।
त्यसपछि उनी केही समय ध्यान गरेर फर्किने लुम्बिनी विकास कोषका योजना प्रमुख ई.सरोज भट्टटराईले जानकारी दिए ।
त्यसैगरी सम्मेलनको समापनपछि श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना पनि सोही अनुसार काठमाडौंबाट भैरहवा बिमानस्थलमा जाने र त्यहाँबाट हेलिकप्टरमार्फत् लुम्बिनी पुग्नेछन् ।
त्यसपछि मायादेवी मन्दिर र पुजाआजा हुनेछ र उनलाई पनि लुम्बिनीबारे बिफ्रङ गरिनेछ ।
तत्पश्चात् श्रीलंकाद्धारा निर्मित गेस्ट हाउसको अवलोकन गर्ने र वृक्षारोपणको समेत कार्यक्रम रहेको छ ।
छिमेकी मुलुकबाट आउन लागेका पाहुनाको स्वागत र सम्मानमा कुनै कमी हुन नदिने तयारी छ ।
छिमेकी मुलुकबाट विशिष्ट व्यक्तित्वहरु आउने खबरसँगै विशेषगरी स्थानीयवासी अझ उत्साहित बनेका छन् ।
प्रशासनिक र सरोकारवाला निकायको ध्यान पनि भ्रमणलाई विशेष बनाउनेतिरै केन्द्रित भएको छ ।
उनीहरुको सुरक्षाको लागि सुरक्षा व्यवस्था पनि विशेष कडाइ गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।
श्रीलंकाका राष्ट्रपतिलाई तामिल टाइगर र म्यानमारको राष्ट्रपतिलाई रोहिंग्याबाट सुरक्षा खतरा रहेको विश्लेषण गरिएपनि हालसम्म कुनै किसिमको खतरा नरहेको प्रहरी स्रोतले जनाएको छ ।
आगामी भदौ १३ र १६ गते केही समयको लागि सर्वसाधरण, श्रद्धालु, भक्तजन, पर्यटक लगायत सबैलाई लुम्बिनी क्षेत्रमा प्रवेशमा रोक लगाइने छ ।
स्वास्थ्य टोलीका साथै अन्य आवश्यक प्रवन्ध मिलाएको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्