काठमाडाैं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्दनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौंधरीलगायतलाई तत्काल रिहाई गर्न सरकारलाई दबाब दिनु भएको छ ।
शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले टिकापुर घटना राजनीतिक घटना भएकाले पनि रेशम चौंधरीलगायतका बन्दीहरुलाई तत्काल रिहाई गरेर सरकारले न्याय दिनुपर्ने तर्क गर्नु भयो ।
उहाँले मुलुकको राजनीतिक आन्दोलनमा धेरै मान्छेहरु मारिए पनि उनीहरुले न्याय पाएको तर टिकापुर घटनामा परेकाहरुले भने न्याय नपाएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।
सांसद देवले संविधानको रक्षा गर्नका लागि कांग्रेसले सरकारलाई विश्वासको मत दिनु परेको स्पष्टिकरण समेत दिनु भयो । उहाँले संविधानको रक्षा गर्दै सुशासन, विकास, भ्रष्टाचार नियन्त्रण र जनतामा सेवा प्रवाहको कामलाई सहज बनाउन नसके सरकारलाई दिएको समर्थन आफ्नो पार्टीले फिर्ता लिन सक्ने अडान समेत राख्नु भयो । सांसद देवले सरकारलाई भारत र चीन दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गरेर अघि बढन सुझाव दिनु भयो ।
सांसद देवले सरकारले कुनै छिमेकीसँग हौसिने र कुनै छिमेकीसँग आशंका पालेर अघि बढन नहुने धारणा समेत राख्नु भयो ।




प्रतिक्रिया दिनुहोस्