
काठमाडाैं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।
शुक्रबार बिहान काठमाडौंको सोह्रखुट्टे र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा उहाँले कसैको दवाव र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने काममा लाग्ने बताउनुभएकाे हाे । उहाँले प्रधानमन्त्रीले नराम्रो गर्ने जो कोहीलाई कारबाही गर्न सक्ने निर्देशन दिनुभएको बताउनुभयो । मन्त्री श्रेष्ठले सडकमा समस्या देखिएपछि भाग्ने नभइ सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको बताउनुभयो।
मन्त्री श्रेष्ठले सरकार देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागिसकेको बताउनुभयो । उहाँले विभिन्न किसिमका समस्या समाधान गर्न तीन तहकै सरकारले मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले सडक कम भन्दा कम खन्न, सडक खन्दा निश्चित जानकारी गराउनुपर्ने र सडक भत्काइएका ठाउँमा तत्काल मर्मत सम्भार र हुनुपर्ने बताउनुभयो ।
सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाइरहेको समेत उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्