३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


पहिरोले राजमार्ग दुई हप्तादेखि अवरुद्ध, खर्चिलो हेलिकोप्टरमा यात्रा (भिडियो)


0
Shares

-मनिता कोइराला/ईमेज

रसुवा । पासाङल्हामु सडक खण्ड अन्र्तगत रसुवाको धुन्चे-स्याफ्रु खण्डका दुई स्थानमा गएको पहिरोका कारण यातायात दुई सातादेखि अवरुद्ध बनेको छ ।

यातायात अवरुद्ध हुँदा यात्रु मात्र होइन व्यापारीसमेत समस्यामा परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–५ मा सडक अवरुद्ध भएपछि दुई सातादेखि सवारी ठप्प छन् ।

जसका कारण विशेष गरी रसुवाको उत्तरी भेगका दुई गाउँपालिकामा बस्ने हजारौँ जनालाई समस्या भइरहेको  छ ।

वर्षायाम भएकोले पहिरो त अन्य ठाउँ पनि गइरहेकै छ तर यहाँ भने पहिरोकै कारण दुईसाताभन्दा बढी समयदेखि यातायात अवरुद्ध छ ।

उसो त लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाको कालिजंग गणले सडक खुलाउने प्रयास गरिहेपनि निकै ठूलो चट्टान सडकमाथि रहेको कारण सडक सुचारु गर्न कठिन भएको  सडक सुचारु गर्न कठिन भएको बताएको छ ।

दुई गाउँपालिकामा दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको अभाव देखिन थालेको छ अर्कोतिर हजारौँ यात्रुहरु अलपत्र छन् ।

त्यस्तै निमार्णधीन रसुवागढी जलविद्युत आयोजना तथा सान्जेन जलविद्युत आयोजनामा निर्माण सामग्री अभाव भइरहेको छ ।

पहिरो पन्छाउने काम भइरहेपनि माथिबाट झन ठूला पहिरा खस्ने क्रम रहेकोले समस्या भएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलको भनाइ छ ।

त्यस्तै उता  नेपाली सेनाले निर्माण गरेको मैलुङ स्याफ्रूबेसी सडकमा पनि ठूला ठूला ढुंगासहितको पहिरो सडकमा खसेकोल उक्त सडक वर्षायाममा संचालन गर्न नसकिने प्रमुख जिल्ला अधिकारी पौडेल बताउँछन् ।

दशैंको सामान चीनको केरुङमा थन्किएकोले व्यापारीहरु पनि चिन्तित छन् ।

सडक अवरुद्ध हुँदा कैलाश मानसरोवर जाने भारतीय तीर्थालु र नेपाल घुम्न आएका चिनियाँ पर्यटक गन्तव्यमा पुग्न हेलिकप्टरको प्रयोग गर्न थालेका छन् ।

उता सडक डिभिजन कार्यालय नुवाकोटले दुवैतर्फ विष्फोटक पदार्थ प्रयोग गरी सडक मर्मत गर्ने काम भइरहेकोले अझै एक साता  सडक अवरुद्ध हुने जनाएको छ  ।

सडक अवरुद्ध भएपछि धेरैजनालाई  समस्या भएकोले थप जनशक्ति परिचालन गरी छिटोभन्दा छिटो सडक सञ्चालन  गर्न आवश्यक छ ।