Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


गोरखालाई समृद्धिको नमूना जिल्लाका रूपमा विकास गरिनेछ : उपप्रधानमन्त्री श्रेष्ठ


65
Shares

काठमाडाैं । सङ्घीय सरकारका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गोरखालाई समृद्धिको नमूना जिल्लाकारूपमा विकास गर्ने बताउनुभएको छ ।

गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा गोरखा सदरमुकाममा आजदेखि सुरु भएको ११ औँ गोरखा महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले गोरखाको जनताको अपेक्षाअनुसार जिल्लाको विकास निर्माणको काम अघि बढाइने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै गोरखा आइपुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “निर्वाचनमा गरेका प्रतिबद्धतालाई पूरा गर्ने गरी काम गर्न प्रधानमन्त्रीले मलाई निर्देशन दिइसक्नुभएको छ, अब त्यसैअनुसार गोरखाको विकास निर्माणको काम अघि बढ्छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले जिल्लाभित्र अधुरा रहेका विकास निर्माणको कामलाई तीव्रता दिइनेसमेत बताउनुभयो ।उहाँले जनताले तीव्र विकास र आर्थिक समृद्धि चाहेकाले अब पुरानो शैलीमा काम गरेर मात्र नहुने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले देशको आर्थिक अवस्थालाई चलायमान बनाउन विभिन्न मेला महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको औद्योगिक व्यापार मेलाले गोरखाको आर्थिक विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।