पृथ्वी जयन्ती मनाउनु सम्मान कि फेसन ? « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


पृथ्वी जयन्ती मनाउनु सम्मान कि फेसन ?


312
Shares

काठमाडौं । मुलुक गणतान्त्रिक भएपछि मूलधारका राजनीतिक दलका लागि बिर्सिसकेका एकीकृत नेपालका निर्माता पृथ्वीनारायण शाह एकाएक राष्ट्रिय विभूति बनाइएका छन् । सरकारले राष्ट्रिय एकताको पर्व स्वीकारेर सार्वजनिक बिदा मात्र दिएको छैन, सामाजिक सञ्जालमा नागरिक तहबाट व्यक्त उनीप्रतिको भक्तिभाव विचित्र छ । यो इतिहासप्रतिको सम्मान हो या फेसन त्यसको छिनोफानो जरुरी छ ।

हरेक नेपालीले राष्ट्रिय पोसाकको दर्जा दिएको दौरा सुरुवाललाई राजामहाराजाको सामन्ती आभूषण भनेर हेय गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो प्रधानमन्त्रीको कार्यकालसँगै त्यो पोसाक लगाएर सम्मान प्रकट गर्नुभयो । त्यतिमात्र हैन, उहाँले नेतृत्व गरेको सरकारले नै पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक बिदा दिएर यस दिनलाई सर्वस्वीकार्य प्रमाणित गरेको छ ।

यस्तै, राजतन्त्र फालर आएको संघीय लोकतान्त्रिक गणतन्त्रकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सिंहदरबार पुगेर राष्ट्र निर्माता पृथ्वीारायण शाहको शालिकमा माल्यार्पण गर्नुभयो । नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई इतिहासले कूटनीतिक चातुर्य, सुशासन, पारदर्शी, जवाफदेही, राष्ट्रियताका सवालमा स्वाभिमानी तथा आँटिला शासक प्रमाणित गरेको छ ।

सबै जनतामा समभाव राख्ने व्यवहारिक शासक भएकै कारण उनी विशाल एकीकृत नेपालका जन्मदाता बन्न पुगे । उनी ५२ वर्ष मात्र बाँचेर पनि नेपालको माटोमा सबै कालखण्डका लागि चर्चित, अनुकरणीय तथा बन्दनीय युुगपुरुष भएर स्मरणीय बनेका छन् ।

पृथ्वीनारायण २० वर्ष हुँदा आफ्ना पिताको अवसान भएकाले उनी गोरखाका राजा बन्न पुगे । त्यतिखेर नेपालको पश्चिमी भागमा बाइसे चौबीसे राज्य थिए भने उपत्यकामा कीर्तिपुर, ललितपुर, भक्तपुरमा मल्ल राजाहरूको राज चलेको थियो । त्यस्तै, पूर्वतिर माझ किराँत, पल्लो किराँतमा किराँतीको राज थियो भने दक्षिणतिर सेन वंशको राज्य थियो । देशभर ५२ भन्दा वटा बढी राज रजौटा थिए ।

यस्तो स्थितिमा राजा भएका पृथ्वीनारायणले गोरखाका आफ्ना छिमेकी राज्यसित कूटनीतिक सम्बन्ध कायम गरी महत्वपूर्ण व्यापारिक मार्ग बनेको नुवाकोट दुई पटक लगाएर जितेपछि उपत्यकामा प्रवेश गरे । तीनपल्ट लगाएर कीर्तिपुर जितेपछि उपत्यकाका सबै राज्य हात लगाए । त्यसपछि उनी दक्षिण र पूर्वी नेपालका विभिन्न राज्यमाथि हमला गरेर एकीकरण अभियानलाई तीव्र पारी बाइसे चौबीसे राज्यमा पनि आधिपत्य जमाउने अभियानलाई द्रुत गति दिए ।

उनका दृष्टिकोण झल्काउने दिव्योपदेशमा देशले अख्तियार गर्ने आन्तरिक एवं बाह्यनीति, कूटनीति, व्यापार पारवहन, निर्यात आयातको सन्तुलन र निर्यातप्रधान अर्थतन्त्रको देश बनाउने सपना तथा भावी दृष्टिकोणको प्रक्षेपण छ ।

अवसान हुने समयअघि उनले आफ्ना भाइ भारदारलाई राखेर बृहत्तर नेपाललाई सबल बनाउन उपदेश दिएका थिए । यसरी उनको नेपाल एकीकरणको सपना अनुसार गोर्खा राज्यको नायकत्वमा देशको भौगोलिक आयतन पूर्वमा टिष्टा नदी, पश्चिममा सतलज र दक्षिणमा मगधसम्म आफूलाई फैलाउन सफल बनायो । बृहत्तर एकीकृत नेपालको रचना गर्ने क्रममा उनले देशभित्रका राज्यहरू र अंग्रेज साम्राज्यसँग लड्नु पर्‍यो ।

मुलुकको हर पक्षमा आफ्ना भोगाइ, अनुभव, शास्त्रबचन, सज्जनका सहमति विदेशीका तिकडम बाउन्नभन्दा बढी राजाको व्यवहार सबैको गहिरो अध्ययन, चिन्तन र मननको सारांश मानिने पृथ्वीनारायणको संघर्ष र वाणी सार्वकालिक र मननीय ग्रन्थ देशकै निधि हो भन्नेमा दुईमत छैन ।