जकार्ता, भदौ ११ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)को टेबलटेनिसतर्फ नेपाले सोमबार खेलेका टिम इभेन्टका ४ खेलमध्ये एक खेल जितेको छ । अरु तीन खेलमा पराजित भएको छ ।
पुरुष टिम इभेन्टमा नेपालले लाओसलाई ३–१ ले हराएको हो ।
नेपालका अमरलाल मल्लले दुई खेल जित्दा स्यान्टु श्रेष्ठले एक खेल जिते । दीप सावनलाई भने लाओसका खेलाडीले ३–१ ले हराए ।
टेबलटेनिसकै पुरुष टिम इभेन्टको अर्को खेलमा नेपाललाई उत्तर कोरियाले ३–० को सेटमा पराजित गर्यो ।
नेपालका स्यान्टु श्रेष्ठलाई जी सोङ आनले, अमरलाल मल्ललाई यु सोङ हामले तथा दीप सावनलाई सिनह्योक पाकले ३–० को सोझो सेटमा हराएका हुन् ।
महिला टिम इभेन्टमा नेपाललाई सोमबार हङकङ र भियतनामले ३–० को सोझो सेटमा हराए ।
दिनको पहिलो खेलमा नेपालकी नविता श्रेष्ठ हङकङकी खेलाडी छिङ वानलीसँग ३–० ले पराजित भइन् ।
यसैगरी, स्वेच्छा नेम्वाङ हङकङकै विङ नामएन जीसँग ३–० ले हारिन् ।
यस्तै, रविना महर्जन पनि हङकङकी याममिनी सुसँग ३–० को सोझो सेटमा पराजित भइन् ।
यसैगरी, दिनको दोस्रो खेलमा नेपाललाई भियतनामले पनि ३–० कै सहज सेटमा पराजित गर्यो ।
टेबलटेनिसको पुरुष तथा महिला टिम इभेन्टमा आइतबार पनि नेपालले २/२ खेल हारेको थियो ।
अब पुरुष तथा महिला व्यक्तिगत र मिक्स्ड इभेन्टका खेलहरु बाँकी छन् ।








प्रतिक्रिया दिनुहोस्