निरञ्जन अधिकारी (इमेज)
जकार्ता, भदौ ११ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)मा कराँतेतर्फ नेपालको पदकको आशा सकिएको छ ।
सोमबार जकार्तास्थित जेसीसी हलमा भएको खेलमा नेपालकी अनु अधिकारी पदकको नजिक पुगेर पनि निराश भइन् ।
महिला ६० केजीमुनिको तौल समूहमा निकै फुर्तिलो प्रदर्शन गरेकी अनु कास्यपदकका लागि भएको खेलमा जापानकी खेलाडी मियो मियाहारासँग पराजित भइन् ।
यसअघि प्रिक्वार्टरफाइनल खेलमा मकाउकी चिङ छेउङलाई ५–१ ले हराउँदै अनु क्वार्टरफाइनलमा पुगेकी थिइन् ।
क्वार्टरफाइनलमा चाइनिज ताइपेइकी शियाउ सुहाङ घुसँग ७–२ ले हारेकी अनुले ‘रिपिचेज’ खेल्ने अवसर पाएकी थिइन् ।
रिपिचेजको पहिलो खेलमा लाओसकी खेलाडी सिर्भिमोनलाई ३–१ ले हराएपछि अनुले जापानी खेलाडीसँग कास्यपदकको भिडन्त तय गरेकी थिइन् ।
तर, यो खेल गुमाएपछि कराँतेतर्फ नेपालको अन्तिम आशा पनि समाप्त भएको छ ।
यसअघि, कराँतेकै पुरुष ८४ केजीमुनिको तौल समूहमा नेपालका दिवस श्रेष्ठलाई इरानका जाबिउल्लाह पुर्साबले ८–० को फराकिलो अन्तरमा हराएका थिए ।
१८औं एसियाली खेलकुदमा कराँतेका सम्पूर्ण खेलहरु सकिएका छन् ।
नेपालले ८ खेलाडी सहभागी गराएकामा तीन खेलाडी कास्यपदकको भिडन्तमा पुगेर निराश भए । अरु खेलाडी त्यसअघि नै पराजित भए ।








प्रतिक्रिया दिनुहोस्