३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


भक्तपुरमा यसरी मनाइन्छ गाईजात्रा, यसकारण छ विशेष (भिडियो)


26
Shares

जयराम बास्तोला (इमेज)

भक्तपुर, भदौ ११ । देशभरका नेवार समुदायले सोमबार गाईजात्रा पर्व मनाइरहेका छन् ।

भक्तपुरका नेवार समुदायले भने यो जात्रालाई विशेष किसिमले मनाउँछन् । भक्तपुरमा ८ दिनसम्म यो पर्व मनाउने चलन रहिआएको छ ।

भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङघिसी नाच हो । यो नाच जोडी–जोडी बनेर लाठी जुधाएर नाच्ने गरिन्छ ।

८ दिनसम्म चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण छ । जहाँ एक वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको साँचा अर्थात् डोकोलाई गाईकारुपमा सिंगारेर नगर परिक्रमा गरिन्छ । उमेर पुगेका व्यक्तिहरुको ताहामचाः अर्थात् चारओटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाइ नगर परिक्रमा गरिन्छ ।

घिन्ताङघिसीका साथै हनुमान नाच, बाँदर नाच, लाखे नाच, भैरव नाच, ख्या त्याखलगायत देवीदेवताका नाच यहाँको अर्को विशेषता हो ।

मृतकको सुकीर्ति झल्काउने करुण रसयुक्त गीतिलीला रामायणसमेत प्रदर्शन गर्ने चलन छ ।

गाई वा ताहामचाः बनाइ नगर परिक्रममा गराउनेलाई श्रद्धालुहरुले फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्दछन् ।

गाईजात्राका अवसरमा तलेजु स्थानबाट कुखुरा नबास्दै पहिलो तलेजुको ताहामचाः बनाइ नगर परिक्रमा गराइन्छ ।

त्यसपछि मृतकको सम्झनामा उनीहरुको प्रतीक ताहामचाः बनाइ नगर परिक्रमा गरिन्छ ।

वर्र्षभरि दिवंगत भएकाहरुको सम्झनामा परिवारजनले बालकलाई गाईको प्रतीकको रुप दिएर सहर परिक्रमा गराउँदा दिवंगत व्यक्तिले बैतरणी सजिलै तर्नसक्ने र परलोकमा मोक्ष मिल्ने धार्मिक विश्वास छ ।

देशका विभिन्न स्थानमा यो पर्व मनाउने चलन रहेपनि भक्तपुरमा मनाइने गाइजात्रालाई भने विशेष मानिन्छ ।

भिडियो हेर्नुहोस्