Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


मन्त्रिपरिषद् विस्तार हुन अझै केही दिन लाग्छ : अध्यक्ष ओली


429
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको काम अझै १०/१५ दिन लाग्न सक्ने संकेत गर्नुभएको छ ।

अध्यक्ष ओलीले खेलकुदमन्त्री हाल नभएको प्रसंग उल्लेख गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताउनुभएको हो ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रह समेत गर्नु भयो । उहाँले खेलाडीहरुले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उनीहरुको सो माग सरकारसमक्ष पुर्‍याउन आफू लागिपर्ने आश्वासन समेत दिनुभयो ।

नयाँ खेलकुद मन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने अध्यक्ष ओलीको भनाई थियो । उहाँले बालबालिकाहरुलाई उचित संरक्षण गरेर सफल बनाउन पनि सरकार लाग्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकारले खेल क्षेत्रलाई राम्रोसँग हेरेको छैन भन्ने कुरा तपाईहरुको यो अभिव्यक्ति हेरोस भन्ने चाहना र यो मागलाई सरकार समक्ष पुर्‍याउँछु । अहिले त खेलकुद मन्त्री नै छैन । केही दिनभित्र भन्दा पनि १०–१५ दिन लाग्न पनि सक्छ । खेलकुद मन्त्री आउन । तर १०/१५ दिनपछि भए पनि म खेलकुद मन्त्री जो बन्ला, उसलाई पनि यो तपाईहरुको कुरा भन्छु । खेलाडीहरुको भनाई छ–खेल क्षेत्रलाई सरकारले हेरोस् । त्यो कुरा म सरकारसँग राख्छु ।’

अध्यक्ष ओलीले प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर अघि बढेका कारण पेले विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी भएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाली खेलाडीहरुले पनि आफूलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । त्यस अवसरमा उहाँले सो एकेडेमीलाई अक्षय कोष स्थापना गर्न ढिलाई नगर्न आग्रह गर्दै आफूले २ लाख नगद राशी सहयोग गर्ने घोषणा गर्नुभयो ।