
भीमदत्तनगर, भदौ ११ । कन्चनपुरको भीमदत्तनगरमा सोमबार राति निषेधाज्ञा लगाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थानमा सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
यसअघि, स्थानीय प्रशासनले सोमबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाउने सूचना जारी गरेको थियो ।
जिल्ला सुरक्षा समितिको केहीबेरअघि सम्पन्न बैठकले निषेधाज्ञाको समय हेरफेर गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।
निषेधाज्ञाको समय परिवर्तनपछि अहिले महेन्द्रनगर बजार खुलेको छ । बजारमा चहलपहल बढेको छ । शैक्षिक संस्था भने सोमबार पनि बन्द छन् ।
भीमदत्त नगरपालिका–२, खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या गरेको घटनापछि यहाँको स्थिति असामान्य बनेको थियो ।
स्थानीय प्रशासनले गत शुक्रबारदेखि निषेधाज्ञा लगाउँदै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्