काठमाडाैं । बुटवलमा दर्ता नभएका ईरिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक लगाइएको हो ।
अब बुटवलमा यसअघि दर्ता भएका १ हजार २ सय ५६ वटा इरिक्सामात्रै चल्न पाउनेछन् । दर्ता नगरी सञ्चालन भएका ईरिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरु भएको र दर्ता नभएका ईरिक्सा पहिचानमा समस्या भएपछि बुटवल उपमहानगरपालिकाको अगुवाइमा बुटवलमा दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक लगाइएको हो ।
आइतबारदेखि दर्ता नभएका ईरिक्सा सञ्चालनमा रोक लगाउँदै सञ्चालन भएको पाइएमा नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही अघि बढाउने अभियान सञ्चालन गरिएको छ । अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरलाई सुन्दर, सफा र व्यवस्थित गर्दै कानुनी राज्यको रुपमा स्थापित गर्न बिनादर्ताका ईरिक्सा सञ्चालनमा रोक लगाएको बताउनु भयाे।
उहाँले यसअघि नगरले तयार पारेको कार्यविधिअनुसार थप १ सय ८४ ईरिक्सा दर्ता गर्न बाँकी रहेको र त्यस्ता ईरिक्सा दर्ता गर्दा स्वरोजगार, स्थानीय, महिला र सवारी चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिने बताउनु भयाे।
राजमार्ग सुरक्षा तथा दुर्घटना नियन्त्रण कार्यालयमा काज सरुवामा आएका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बुटवल उपमहानगरपालिकाको निर्णय कार्यान्वयनका लागि सहकार्य गर्न कार्यालय तयार रहेको बताउनु भयाे । उहाँले दर्ता नगरी सञ्चालन गरेका ईरिक्सा सञ्चालन भएको पाइएमा नियन्त्रणमा लिएर कारबाही गरिने बताउनु भयाे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका वित्त व्यवस्थापन, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (ट) को खण्ड ४ को अधिकार कार्यान्वयन गर्न र सोही ऐनको दफा ११ को उपदफा ४ (ट) बमोजिम नगर क्षेत्रमा चल्ने विद्युतीय रिक्साको व्यवस्थापन शुरु भएको बताउनु भयाे ।
बुटवल उपमहानगरपालिका राजस्व प्रशासन शाखाका प्रमुख डोलराज पौडेलले बुटवलमा दर्ता भएर सञ्चालन भइरहेका ईरिक्सालाई नियमन गर्ने, करको दायरामा ल्याउने र त्यसरी कानुनी दायरामा नआउनेलाई खारेज गर्ने र नयाँ प्रक्रिया शुरु गर्ने बताउनु भयाे।





प्रतिक्रिया दिनुहोस्