२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


१० औं राष्ट्रिय पोशाक एवं टोपी दिवसमा काठमाडौंमा र्‍याली


39
Shares

काठमाडाैं । मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित आज आइतबार १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ ।

आइतबार अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरु लगाएर याे दिवस मनाइएको हो । सोही अवसरमा काठमाडौंका विभिन्न स्थानमा र्याली समेत गरिएको छ ।

उनीहरुले राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र संवर्धनका लागि दिवस मनाउनु परेको बताए । कार्यक्रममा राष्ट्रिय पोशाक संरक्षण अभियान नेपालका संयोजक राजनन्द माण्डव्यले १० वर्षदेखि राष्ट्रिय पोशाक दिवस र टोपी दिवस मनाउँदै आएको बताउनुभयो । उहाँले विश्वामा रहेका नेपालीहरुलाई पनि स्मरणार्थ यो दिवस मनाउने गरिएको बताउनुभयो ।

उहाँले पोशाक दिवसको अभियानको रुपमा नेपालका पोशाकलाई अन्तर्राष्ट्रिय मञ्चमा देखाउन सक्नुपर्ने बताउनुभयो । त्यस्तै राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका महासचिव श्याम बजगाईले नेपालको मौलिकतालाई बचाइ राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय पोशाकलाई राष्ट्रिय पोशाकको रुपमा घोषणा गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय पोशाक दिवसलाई विश्वमा रहेका नेपालीहरुले यो दिवस मनाइरहँदा नेपाली पहिचान बढ्दै जाने कार्यक्रममा सहभागीहरुले बताएका छन् । युवा पुस्तामा अहिले पनि नेपाली पोशाक लगाउँदा लजाउने गरेका कारण यसलाई लाज मानेर अघि बढ्न नहुने उनीहरूले बताएका छन् ।

उनीहरुले अघिल्लो पुस्ताले नेपाली संस्कृतिलाई हस्तान्तरण गर्न नसक्दा अहिले नेपालको पहिचान गुम्दै गएको समेत बताएका छन् ।