
काठमाडौं । बंगलादेशमा आयोजित सेन्ट्रल एसियन जोन बिच भलिबल प्रतियोगितामा रजत पदक जितेर फर्किएको टोलीलाई त्रिभुवन विमानस्थलमा भलिवल संघका पदाधिकारीहरुले स्वागत गरेका छन् ।
कक्सबजारस्थित डल्फिन कोर्टमा शुक्रबार भएको फाइनलमा माल्दिभ्ससँग २–० को सेटमा पराजित भएपछि नेपाल उपविजेता बनेको हो । खेलाडीहरुलाई स्वागत गर्दै खेलकुदका पदाधिकारीहरुले यो उपलब्धी राष्ट्रका लागि गौरवपूर्ण भएको बताए । भलिबल संघका महासचिव रोशन श्रेष्ठले पाँच हजार दर्शक अटाउने कभर्ड हलको निर्माण आफूहरुको मुख्य एजेण्डा रहेको बताउनुभयो ।
किर्गिस्तानलाई २–० कै सोझो सेटमा पराजित गरी आयोजक बंगलादेशले काश्य पदक जितेको थियो । प्रतियोगितामा पुरुषतर्फ नेपाल, बंगलादेश, माल्दिभ्स, किर्गिस्तान र भुटानको सहभागिता थियो । खेलाडीहरुले थोरै समयको अथक मेहनतमा उपलब्धी हासिल गरेको भन्दै यो सफलता सम्पूर्ण जनताको भएको बताए ।
मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारसम्मिलित नेपाली टिम माल्दिभ्सका एडम नासिम र स्मेल सम्मिलित टिमसँग २१–१३ र २१–१९ ले पराजित भएको हो । यसैगरी महिलातर्फ बिहीबार भएको फाइनलमा श्रीलंकासँग पराजित भएपछि नेपाली टिमले रजत पदक जितेको थियो ।
नेपालबाट भेट्रान खेलाडी कोपिला उप्रेती र कमला पुन सहभागी थिए । उपविजेता दुवै नेपाली टिमले ३५० अमेरिकी डलर पुरस्कार पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्