सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधीन २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजनाको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो आयोजनाको काम सन् २०१८ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सरकारले अध्ययन गरेर निजी क्षेत्रलाई निर्माण गर्न दिएका नेपालका ६ वटा आयोजना मध्येको यो एक आयोजना सन् २०१० मा निर्माणका लागि ऊर्जा मन्त्रालयले अनुमति दिएको थियो ।
कम्पनीले सन् २०११ बाट प्रारम्भिक काम शुरु गरी २०१४ बाट कन्स्ट्रक्सनको काम थालेको हो ।
आयोजनाका साइट प्रशासन प्रमुख बद्रीमान श्रेष्ठले सन् २०१८ भित्रै आयोजना निर्माण सम्पन्न गर्ने बताए ।
कूल ४ दशमलव ३ किलोमिटरको पेनस्टक पाइपमध्ये तल्लो भागमा १७० मिटर लामो टनेल रहेको उक्त आयोजनाको विद्युत् गृहमा वार्षिक १३२ दशमलव ५ गिगावाट आवर विद्युत् उत्पादन गर्ने ११ दशमलव ७५ मेगावाट क्षमताका दुईवटा जेनेरेटर राखिने भएको छ ।
४ अर्ब ४६ करोड रुपियाँको पूर्ण स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाका लागि लक्ष्मी बैंकको नेतृत्वमा आठ वटा बैंक र एउटा जलविद्युत् लगानी तथा विकास कम्पनीले लगानी गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्