
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-२ मा रहेकाे ५ सय ७२ वर्ष पुरानो खड्ग भवानी कोटकाे संरक्षण र व्यवस्थापनको अभावले जीर्ण बन्दै गएकाे छ ।
सदरमुकाम बेनीबजारदेखि करिब १ घण्टाको पैदल दूरीमा पर्ने ज्यामरुककोटको डाडाँमा अवस्थित खड्ग भवानी कोट १५ औं शताब्दीको अन्त्यतिर पहिचान भएको थियो । १७ औं शताब्दीका ज्यामरुककोटका मल्ल राजा भर्तिबम मल्ललाई उनकै दाजु पर्वते राजा डिम्मबम मल्लले ज्यामरूककोट छोड्न धम्की दिएका थिए । साेही धम्कीपछि भाइ भर्तिबमले ज्यामरुककोट छोड्दिन भनेर अड्डि लिएका थिए । जसका कारण दाजु डिम्वबमले भाइ भर्तिबम मल्लको हत्या गरेका थिए ।
आपसी कलह र भाइभाइबीचमा भएको षडयन्त्रको साक्षी बनेको ज्यामरुककोटको खड्गभवानी कोटमा १५ औं शताब्दीका ऐतिहासिक शिलालेख, हातहतियार र छेलो लगायतका ऐतिहासिक महत्वका सामग्रीहरु रहेका छन् । तर संरक्षणको अभावमा ति सामग्रीहरु चोरिने र हराउने खतरा रहेको स्थानीय भीमबहादुर पौडेलले बताउनुभयो ।
त्यसका साथै तत्कालीन राजा भर्तिबम मल्लले पानीखाने सात्ले पानीको राजकुवा अहिले पनि अलपत्र अवस्थामा रहेकाे छ । जस्तै खडेरी पर्दा पनि पानी नसुक्ने सोही कुवाँको संरक्षणमा समेत स्थानीयले कुनै चासो देखाएका छैनन् । त्यसैगरी २२ रोपनी क्षेत्रफलमा फैलिएको खड्गभवानी कोट परिसरमा तारबार गर्न नसक्दा ऐतिहासिक ठाउँ गौचरन र युवायुवतीहरुको क्रिडास्थ बनेको छ ।
खड्ग भवानी कोट पर्यटकीय सम्भावनाले पनि युक्त छ । ज्यामरुककोटको कोट डाँडोबाट धौलागिरी, निलगिरी,अन्नपूर्ण र माछापुच्छ्रे लगायतका १५ वटा भन्दा बढी हिम श्रृङखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । साथै धौलागिरी र गण्डकी क्षेत्रका ३० वटा भन्दा बढी गाउँ, सुर्योदय, ग्रामीण सौन्दर्य, सदरमुकाम बेनीबजारका, म्याग्दी नदी र कालीगण्डकीको नागबेलीकाे दृश्य समेत देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्