
काठमाडौं । नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट यही पुस १५ गतेदेखि दर्ताभित्र दर्ता गर्न दूरसञ्चार प्राधिकरणले कडाई गरेको छ । विदेशबाट ल्याइएका यस्ता मोबाइल सेट तोकिएको समयमा दर्ता नभए सञ्चालनमा रोक लगाउने उसको तयारी छ । मोबाइलको गैरकानूनी आयात रोक्न प्राधिकरण अग्रसर छ ।
प्राधिकरणले यही पुस दोस्रो साताभित्र मोबाइल दर्ता गर्न आह्वान गरेपछि सेवाग्राही धमाधम सम्पर्कमा आउन थालेका छन् । २०७८ भदौ महिनापछि भित्रिएका मोबाइलदर्ता गर्न पर्ने अन्यथा त्यस्ता मोबाइल बन्द हुने छ ।
मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणका रुपमा एमडिएमएस लागू गरिएको केही प्राविधिक कारण र कोभिडका कारण निरन्तरता दिन नसकिएको नेपाल दूररसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेल बताउनुहुन्छ ।
विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडिएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटको १५ डिजिट नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिइ प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणले भनेको छ ।
नेपालभित्रै मोबाइल खरिद गर्दा पनि खरिद मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गर्न सकिने हुँदा त्यसअनुसार निश्चित गरेर मात्र खरिद गर्न प्राधिकरणले सचेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस्