
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको बगरफाँटमा ३ रोपनी क्षेत्रफलको विशाल चटन (जब्रो) माथि दुर्गा भगवतीको भब्य मन्दिर निर्माण गरिएको छ ।
जिल्ला वन कार्यालय म्याग्दीको ४ लाख ६५ हजार, जिल्ला मालपोत कार्यालयको १० हजार, बेनी नगरपालिकाको ५ लाख, बालुवा, गिट्टी र ढुङ्गा बिक्रीबाट २० हजार र देश विदेशमा रहेका बगरफाँट वासीहरुको ७ लाख ५० गरी जम्मा १७ लाख ३५ हजारमा साेही मन्दिर निर्माण गरिएकाे हाे । मन्दिर निर्माण गरेर बाँकी रहेकाे रकम नियमित पूजा संचालनका लागि अक्षय कोष स्थापना गरिने मन्दिर निर्माण समितिका संयोजक नारायण कार्कीले जानकारी दिनुभयाे ।
गजुर शैलीमा निर्मांण गरिएको सोही मन्दिर समथर फाँटकाबीचमा रहेको विशाल जब्रो (टापु) मा निर्माण गरिएको छ । सोही जब्रो ३ रोपनी क्षेत्रफलको रहेको र जब्रोको पुछारदेखि शिरानमा रहेको मन्दिरसम्म पुग्नका लागि पक्की सिंडीसहितको पदमार्ग निर्माण गरिएको छ । पदमार्गमा पाञ्चायन देवता, नाग र गणेश लगायतका भगवानका मूर्तिहरु पनि राखिएको छ ।
मन्दिरको चारैतिर हरियाली फाँट र फाँटको सिरानमा उडाइनो, आप्रे लगायतका ४ वटा आकर्षक झरना, मन्दिरको तलपट्टी म्याग्दी नदी र पूर्वतर्फ बेनी बजार स्पष्ट रूपमा देख्न सकिन्छ । बेनी, हाँडेभीर, बरंजा मोटरबाटोको नजिकै रहेको सोही मन्दिरसम्म पुग्नका लागि मोटरबाटोदेखि जब्रोको पुछारसम्म र त्यहाँदेखि माथि उपल्लो फाँटसम्म पुग्ने पदमार्ग निर्माणका लागि प्रदेश सांसद विनोद केसीले सहयोग गर्ने आश्वासन दिनुभएको संयोजक कार्कीले बताउनुभयाे ।
साेही मन्दिर निर्माण भएसँगै बगरफाँट गाउँको सुन्दरतामा समेत थप टेवा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्