काठमाडौं । वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुबीच नयाँ सरकार गठनमा आज पनि सहमति जुट्न सकेन ।
आइतबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको बैठकमा दलहरुबीच सहमति जुट्न नसकेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सहितको नयाँ सरकार गठनका लागि आज साँझ ५ बजे सम्मको समयसीमा निर्धारण गर्नु भएको छ । त्यस अघि सहमति जुटाउन प्रधानमन्त्री देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुबीच छलफल भएको हो ।
तर छलफलमा कुनै निष्कर्ष निस्कएन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जिीवि अधिकारीले बैठकमा नेताहरुबीच सहमति हुन नसकेको जानकारी दिनुभयो । छलफल निस्कर्ष बिहीन भएपछि कतिपय नेताले गठबन्धन टुटेको बताएका छन् । खास गरी आलोपालो सरकारको नेतृत्व गर्दा पहिला कांग्रेसका देउवा वा माओवादीका दाहाल कसले गर्ने भन्ने विषयमा सहमति नजुटेको हो । यसअघि पनि शीर्ष नेताहरुबीच चरणवद्ध रुपमा छलफल भएको थियो ।
तर सहमति जुट्न सकेको थिएन । सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति नजुटेपछि कांग्रेस र माओवादीका नेताहरु एमालेसँग मिलेर सरकार बनाउने विकल्पमा आन्तरिक छलफलमा जुटेका छन् । यस अघि पनि कांग्रेस र माओवादीले गठबन्धनमा सहमति नभए एमालेसँग मिल्ने कार्ड फ्याक्दै आएका थिए ।




प्रतिक्रिया दिनुहोस्