३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


ऐतिहासिक बौद्ध ग्रन्थ तथा सामग्री प्रदर्शन


0
Shares

काठमाडौं, भदौ १० । गुँपुन्ही पर्वको अवसरमा काठमाडौं उपत्यकामा रहेको विभिन्न बौद्ध बाहाल, बही र विहारहरुमा प्राचिन दीपंकर बुद्ध, बुद्ध, बोधिसत्व, लोकेश्वर र तारा आदिका मूर्ति सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ ।

आजैदेखि बौद्ध धर्मावलम्बीहरूले ९ प्रकारको गुँलाबाजा बजाउँदै विभिन्न बाहाल, बही र विहार परिक्रमा सुरु गरेका छन् । साथै प्राचिन पौवाचित्र र सुन तथा चाँदीबाट लेखिएका हस्तलिखित ग्रन्थसमेत प्रदर्शन गरिन्छ ।

काठमाडौंको ईटुबहालस्थित केशचन्द्र महाविहारमा रञ्जना लिपिमा सुन र चाँदीले लेखेको बौद्धग्रन्थ प्रज्ञापारमिता प्रदर्शन गरिएको छ । सो महाविहारमा करिव आठ सय वर्ष पुरानो केशचन्दको जीवनी र महाविहार बनाएको सम्बन्धी पौवा चित्रसमेत प्रदर्शन गरिएको छ ।

साथै, महाविहारको सुनको ढोका, लिच्छवीकालिन विभिन्न बौद्ध चैत्य तथा दीपंकर लगायतको बुद्ध मुर्ति, काठका ढुंगेधारा र उपत्यकाका विभिन्न तान्त्रिकहरुले प्रयोग गर्ने सामाग्री पनि प्रदर्शन गरिएको थियो ।

यसै अवसरमा काठमाडौंको ताहाचलको खुसिबहीमा ऐतिहासिक र पुरातात्विक महत्वको तिब्बती लिपिमा सुनले लेखेको बौद्धग्रन्थ अष्टसहस्रिका प्रज्ञापारमिता र वीरकुश महाराजको कान नभएको मुखौटा प्रदर्शन गरिएको छ ।

त्यहाँ ऐतिहासिक र दुर्लभ महायानी बौद्ध सिद्ध नरोपाले बोक्ने महाशंख समेत राखिएको छ । नदी संगम महाविहार पनि भनिने यस बहीमा राजा भाष्कर मल्लको पालामा जीर्णोद्धार गरिएको र पाल्पाका राजा मुकुन्द सेनले आठ पटकसम्म जलाउने असफल प्रयास गरेको उल्लेख छ ।