Logo २८ भाद्र २०८२, शनिबार | Sun Sep 14 2025


विदेशबाट फर्किएका म्याग्दीका युवा माछा व्यवसायतर्फ आकर्षित


754
Shares

म्याग्दी । म्याग्दीका युवाहरु माछापालन व्यवसायतर्फ आकर्षित भएका छन् ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरु माछापालनमा आकर्षित भएका हुन् । म्याग्दीको मालिका गाउँपालिका–३ टिमुरे खोलामा ३ जना युवाले गरेको रेन्बो ट्राउट माछा पालन यस क्षेत्रकै नमूना माछा पालन भएको छ । १० वर्ष खाडी मुुुलुकमा काम गरेर फर्किएका पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र हरिबहादुर रोकाले संयुक्त लगानीमा गरेको माछापालन यस क्षेत्रकै नमूना माछा पालन बनेको हो ।

टिमुरेखोला नजिकै बनाइएको पोखरीमा ५ हजार माछाका भुरा हुर्किएपछि उत्साहित यूवा थप पोखरी निर्माणमा जुटेका छन् । विदेशमा बगाएको पसिनाबाट सन्तुष्ट हुन नसकेपछि गाउँघरमै केही व्यवसाय गर्ने मनसायले फर्किएका उनीहरूले माछापालन सुरू गरेका हुन् ।

उहाँले दूध जस्तै संग्लो र सफा अनि चिसो पानी भएकाले उत्पादन राम्रो भएको हरिबहादुर रोकाले जानकारी दिनुभयो । खाडीमा बगाएको पसिना भन्दा गाउँघरकै हावापानीमा व्यवसाय गर्ने पहिलो प्रयास सफल भएपछि ३ जना नै यूवा उत्साहित भएका छन् । अहिले पोखरीमा २ सय ग्रामदेखि आधा केजीसम्मधका माछा रहेका छन् । सामान्य तालिम लिएर सुरू गरेको माछा पालनलाई थप ब्यवस्थित बनाउन युटुब र विभिन्न जानकारी मूलक पुस्तकबाट समेत सिक्ने गरेको रोकाले बताउनुभयो।

उहाँले चिसो पानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको हुनुका साथै आम्दानी समेत राम्रै हुने भएकाले सम्भावना भएका क्षेत्रका युवाहरुलाई तालिम दिने गरिएको बताउनुभयो । रेन्बो ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्ने उहाँले बताउनुभयाे । यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेड उपयुक्त मानिने उहाँकाे तर्क छ ।

उक्त हावापानी खहरेखोला र १२ महिना नै चिसो भएको क्षेत्रमा रहेको उहाँले बताउनुभयो ।